छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ, भीममाया सुनुवारलाई। काना ठाडा हुन्छन्, दैलोमा आइपुग्यो कि भनेर आँखाले खोज्न थाल्छन्। तर ती फगत स्वप्न मात्रै हुन्।
किनकि, भीममायाका छोरा दिपेश अब संसारमा छैनन्। गत भदौ २३ गतेको जेनजी आन्दोलनमा दिपेशको निधन भएको थियो।
त्यसयता दशैं आयो, गयो। तिहार पनि गयो। चाडपर्वमा छोराछोरीको यादले झन सताउने गरेको उनी सुनाउँछिन्।
चाडपर्वमा दिपेशको झल्को आउने गरेको उनी बताउँछिन्। त्यसको कारण हो, दिपेशलाई मासु औधी मनपर्थ्यो। आमा भीममायालाई मासु पकाएको दिन दिपेशको बढी सम्झना आउँछ, मन भक्कानिन्छ। दशैंका लागि घरमा बङ्गुर पालिएको थियो। ‘दुई धार्नी जति भुटेर पठाइ दिनु है मम्मी भनेको अझै ताजै छ,’ उनी सम्झिन्छिन्।
अपरिचितको ‘त्यो’ फोन
गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा जेनजी आन्दोलनमा प्रहरीको गोली लागी दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको खबर दिउँसैदेखि फैलिएको थियो। छोराको अवस्था बुझ्न घरबाट तारन्तार फोन गर्दा सम्पर्क हुन सकेन। अपराह्न १ बजे फोन गर्दा दिपेशले आफू बानेश्वरको आन्दोलनमा सहभागी भएको र साँझ ६ बजे कोठामा पुगेर फोन गर्ने भीममायालाई भनेका थिए।
भीममायाले आन्दोलनमा नजाउ भनेको दिपेशले मानेनन्। प्रदर्शन उग्र बनेको समाचार सुन्दा उनी आत्तिएको सुनाउँछिन्।
त्यही साँझ ६ बजेतिर भीममायाको फोनमा अपरिचित व्यक्तिको आवाज सुनियो। ती व्यक्तिले फोन आफूले बानेश्वर क्षेत्रमा फेला परेको र लिन आउनु भनेपछि उनको मनमा चिसो पस्यो। गाउँका अन्य व्यक्तिलाई फोन लिन जान अह्राराइन्।
छोराको फोन फिर्ता लिएपछि काठमाडौं बस्ने उनकै साथीले दिपेशको हातमा गोली लागेको सुनाए। भीममायाको मन आत्तियो। छोराको अवस्था बुझ्न र खोजी गर्न आफन्त र गाउँले साथीभाइ अस्पताल र प्रहरीसम्म पुगे। तर अत्तोपत्तो लागेन।
तीन दिनसम्म छोराको अवस्था पत्ता नलागेपछि भीममाया आफैं काठमाडौँ आइन्। घाइते भनिएका र हराइरहेका छोराको खोजतलासमा जुटिन्।
छोरालाई खोजी गर्न प्याराग्लाइडिङ पाइलट रामेछापका सानोबाबु सुनुवार, अभियान्ता आशिका तामाङको सहयोगमा उपत्यकाका विभिन्न अस्पतालमा पुगिन्। उनीहरूले दिपेशको फोटो देखाउँदै अवस्था खोजी गर्दै जानेक्रममा एक सातापछि मात्रै त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकको सहयोगमा शव गृहमा राखिएको शवको अनुहार हेर्दै जाँदा दिपेश फेला परे। घाइते अवस्थामा दिपेशलाई कुन-कुन अस्पतालमा पुर्याइयो भन्ने यकीन भएन ।
घरको खाँबो थिए दिपेश
सिन्धुलीको तीनपाटन-६ भलायोडाँडामा २०६३ फागुन १७ गतेका दिन पानी परिरहेको थियो, पूरानो घर भत्काएर नयाँ बनाइँदै थियो। परिवारमा गरिबी, खानको पनि दुःख थियो। त्यतिवेला पहिलो सन्तान जन्मिँदा, दुःखको वेला पनि ठूलो हर्क लागेको सम्झिन्छन्, दिपेशका बुवा ढलकबहादुर।
‘गाउँका कसैलाई मोटरसाइकलमा पुर्याउनु पर्यो भने उही अघि सर्थ्यो, सबैको कुरा मान्ने थियो ऊ,’ ढलकबहादुर छोरालाई सम्झिदै भन्छन्, ‘सबैको विश्वास उसैमा थियो। भलिबल खेल्ने केटाहरू आउँदा छोराको बढी सम्झना आउँछ। केटाहरूको मियो जस्तै थियो।’
दिपेशले विद्यालय शिक्षा परीक्षा (एसईई) सम्म मात्र अध्ययन गरेका थिए। १९ वर्षीय उनी एक वर्ष अघि काठमाडौं आएर घर निर्माणको काममा लागेका थिए। तर ठेकेदारले पैसा नदिएपछि गाउँ फर्किए।
दिपेशले ठेकेदारसँग अझै २० हजार लिन बाँकी रहेको आमा भीममाया बताउँछिन्। पछिल्लो पटक गत जेठमा काठमाडौं आएका थिए। लगत्तै सफाइ कम्पनीमा काम गर्न थालेका थिए।
काठमाडौंमा मजदूरी गरेर उनले घरमा पैसा पठाउने गर्थे। थप पढ्ने इच्छा नभएकाले उनी विदेश जाने सोचमा थिए। दशैंमा घर नआउने र तिहारमा आएको वेला पासपोर्ट बनाएर विदेश जाने योजना सुनाएका थिए। ‘अरु देशमा जान आफूसँग पैसा धेरै छैन। अलिअलि ऋण पनि छ भन्थ्यो,’ भीममाया भन्छिन्, ‘घरमा तेल भुटुन खर्चका लागि पैसा पठाउँथ्यो। अब घर चलाउने खर्च जुटाउन अप्ठ्यारो भएको छ।’
बुबा ढलकबहादुर घरपरिवारको गुजारा चलाउन वर्षमा तीन महिना काठमाडौं आएर खेतमा मजदूरी गर्थे। घरमा रहँदा अधिकांश समय नाङ्लो बुन्ने र त्यसको बिक्रीबाट खर्च धान्दै आएका थिए। छोराको मृत्युपछि उनलाई आजभोलि काठमाडौंसँग मोहभङ्ग भएको छ। नाङ्लो बुन्न पनि छाडेका छन्।
दिपेशको परिवारले काजकिरिया खर्चबापत गाउँपालिकाबाट २५ हजार रुपैयाँ पाएको छ। सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकालाई ‘जेनजी सुशासन योद्धा-२०८२’ घोषणा गरेपछि सरकारबाट १५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।
आमा भीममायाको एउटै मात्र कामना छ- शहीदका परिवारलाई सहज जीवनपायन गर्न सरकारले हिम्मत दिनुपर्छ। उनी भन्छिन्, ‘बालबच्चाले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषय पूरा गर्ने काम सरकारले गरोस्, त्यसका लागि अब आन्दोलन गर्न नपरोस्, आन्दोलनका नाममा कसैको काख रित्तो नहोस्।’ (रासस)
Shares

प्रतिक्रिया