समाज


सिमराको अवस्था सामान्य बन्दै, अहिले छैन कर्फ्यु

सिमराको अवस्था सामान्य बन्दै, अहिले छैन कर्फ्यु

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार ८:४७, काठमाडौँ

बाराको सिमराको अवस्था सामान्य बन्दै गएको छ। 

अवस्था सामान्य बन्दै गएकाले गएराति ८ बजेदेखि कर्फ्यु आदेश थप नगरिएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी भएको थियो। त्यसअघि गएको बुधबार पनि दिनभर सिमरामा कर्फ्यु लगाइएको थियो। 

‘गएराति ८ बजेपछि हामीले कर्फ्यु थप गरेका छैनौँ, अहिले अवस्था सामान्य नै छ,’ सीडीओ मिश्रले नेपालखबरसँग भने, ‘कुटपिटमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेर मुद्दा चलाएका छौँ।’

गएको बुधबार एमालेले सिमरामा गर्न लागेको कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत आउने थाहा पाएपछि जेनजीले प्रदर्शन गरेका थिए। जेनजीको विरोध प्रदर्शनपछि दुवै नेता सिमरा जान नसकी काठमाडौँमै रोकिएका थिए। 

विरोध प्रदर्शनको क्रममा स्थानीय एमाले कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेका थिए। 

जेनजीमाथि कुटपिटमा संलग्न भएको आरोपमा एमालेबाट निर्वाचित जितपुर सिमरा उपमहानगरपालिकाका २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारीसहित तीन जनालाई स्थानीय प्रशासनले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।   

स्थानीय जेनजी अगुवा सम्राट भनिने साइकुस उपाध्यायले उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा बुधबार जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। 

उनीहरु दुवै एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका वडाध्यक्ष हुन्।  

घटनामा संलग्न सबैलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गर्दै जेनजीले बिहीबार पनि सिमरामा प्रदर्शन गरेका थिए। त्यसक्रममा उनीहरु पथलैया वीरगञ्ज सडकखण्ड अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गर्दा केहीबेर झडपसमेत भएको थियो। 

बुधबारको प्रदर्शनको क्रममा जेनजीले सिमरा विमानस्थलको गेटसमेत तोडफोड गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad