समाज


केही दिनदेखि कुनै मौसम प्रणाली नरहेको नेपालमा सुरु भयो पश्चिमी वायुको आंशिक प्रभाव

केही दिनदेखि कुनै मौसम प्रणाली नरहेको नेपालमा सुरु भयो पश्चिमी वायुको आंशिक प्रभाव

पश्चिमी वायुको सांकेतिक तस्बिर


नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार ९:१५, काठमाडौँ

केही दिनदेखि कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको नेपालमा आज (शुक्रबार) बिहानदेखि पश्चिमी वायुको आंशिक प्रभाव परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार यो प्रणालीको प्रभाव मुलुकमा शनिबारसम्म रहने देखिएको छ। 

‘तर यो खासै बलियो प्रणाली होइन’, उनले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘यसले बादल भने बढाउँछ र हिमाली भूभागका एक–दुई स्थानमा हल्कासम्म वर्षा र हिमपात गराउन सक्छ।’

उनका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

‘पहाडी भेगमा पनि वर्षाको सम्भावना देखिएको छैन’, मौसमविद् अधिकारीले भने, ‘त्यसैले हामीले कुनै चेतावनी जारी गरेका छैनौँ।’

उनका अनुसार काठमाडौँ उपत्यकाको हकमा भने आज पनि हिजोभन्दा मौसममा खासै भिन्नता छैन। 

यस्तो छ मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको ३ दिनसम्मको मौसम प्रक्षेपण:  

मंसिर ५ गते (शुक्रबार

दिउँसो : देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

राति : कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

मंसिर ६ गते (शनिबार

दिउँसो : कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

राति : कोसी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

मंसिर ७ गते (आइतबार

दिउँसो : कोसी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। 

राति : कोसी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशमा पातलो मात्र बादल लागेको अवस्था हो भने मु्ख्यतया सफा भनेको छिटपुट बादलबाहेक लगभग आकाश सफा रहेको स्थिति हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad