समाज


सडक अतिक्रमण गरेर हेटौँडाको बजार क्षेत्रमा बनाइएका संरचना हटाउन १५ दिने अल्टिमेटम

सम्बन्धित व्यक्तिले संरचना नहटाए सडक कार्यालयले बलपूर्वक हटाएर त्यसको खर्चसमेत असुल्ने
सडक अतिक्रमण गरेर हेटौँडाको बजार क्षेत्रमा बनाइएका संरचना हटाउन १५ दिने अल्टिमेटम

सुनिता विष्ट
मंसिर ५, २०८२ शुक्रबार ९:५०, हेटाैँडा

हेटौँडा बजारको सडक क्षेत्रका संरचना हटाउन सडक डिभिजन कार्यालयले १५ दिने सूचना जारी गरेको छ। 

सडक डिभिजन कार्यालय हेटौँडाले शुक्रबार सूचना जारी गर्दै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेदेखि बजार क्षेत्रको बुद्धचोक, राप्ती रोडसम्म र बुद्धचोक हुँदै सामरी पुलसम्मका संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम दिएको हो। 

पूर्वपश्चिम महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सुरक्षामा देखिएको जोखिम र अतिक्रमण बढ्दै गएपछि सडक डिभिजन कार्यालय हेटौँडाले पुनः कडाइका साथ १५ दिनभित्र सडक सीमा खाली गर्न निर्देशन दिएको हो।

विगतमा पटक–पटक चेतावनी र सूचना प्रकाशन गरिए पनि अतिक्रमण नघटेका कारण डिभिजनले यसपटक कडा ढंगले सूचना सार्वजनिक गरेको छ।

सडक विभागका अनुसार दुवै राजमार्गमा सडक केन्द्ररेखाबाट दायाँ–बायाँ २५-२५ मिटर क्षेत्र सार्वजनिक सडक सीमा मानिन्छ। 

सार्वजनिक सडक ऐन, २०३१ मा सो सीमा भित्र घर–टहरा निर्माण, जग्गा आवादी, कुलो–खाडल खनिने काम, तगारो गाड्ने, प्रवेशमार्ग खोल्ने लगायत कुनै पनि गतिविधि स्पष्ट रूपमा निषेध गरिएको छ।

सडक डिभिजन कार्यालयले जारी गरेको सूचनामा रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ति पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्मका क्षेत्रमा व्यापक अतिक्रमण भएको उल्लेख गर्दै संरचना हटाउन भनिएको हो। 

यसअघि कार्यालयले २०८०/०३/१० मा जारी गरेको सूचना विरुद्ध परेका रिट निवेदनहरू समेत सर्वोच्च अदालतले खारेज गरिसकेको सडक डिभिजन कार्यालयले जनाएको छ। 

अदालतले २०७८/०९/१९ लगायत मितिहरूमा जारी गरेका उत्प्रेषण आदेशहरूले पनि तोकिएको सीमा भित्रका संरचनाको क्षतिपूर्ति नपाउने प्रष्ट निर्णय गरिसकेको छ।

‘सूचना प्रकाशित मितिले १५ दिनभित्र सबै स्थायी वा अस्थायी संरचना, घर–टहरा, पसल, तगारो तथा अन्य निर्माणकार्य स्वेच्छाले हटाउनहुन सूचना जारी गरिएको छ,’ सडक डिभिजन कार्यालय, हेटौँले आज जारी गरेको सूचनामा भनिएको छ।

सडक सुरक्षा तथा दीगो यातायात व्यवस्थापनका लागि सडक सीमा खाली गर्नु अपरिहार्य भएको भन्दै डिभिजनले सरोकारवालालाई सहकार्य गर्न आग्रह गरेको छ। 

सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र अतिक्रमित संरचना हटाइएन भने सडक डिभिजन स्वयंले बलपूर्वक हटाउने र त्यस प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च सार्वजनिक सडक ऐन तथा प्रचलित कानूनअनुसार सम्बन्धित व्यक्तिबाट असुल–उपर गरिनेछ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad