मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवा स्थित कान्तिलोकपथमा आज बिहान औषधि बोकेको ट्रक पल्टिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिहान करिब ५ बजेतिर वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना.३ ख ३१९२ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित भई सडकमै पल्टिएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ।
दुर्घटनामा बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ निवासी ट्रक चालक ४० वर्षका बिनोद माझी सकुशल रहेका प्रहरीले जनाएको छ। उनी प्रहरी सम्पर्कमा छन्।
ट्रकमा औषधि लोड रहेको र सडककै बीचमा पल्टिएको कारण यातायात पूर्णरूपमा रोकिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा इप्रका ठिंगनका प्रहरी सहायक निरीक्षक रमाकान्त प्रसाद यादवको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली खटिएको छ। ट्रक हटाउने तथा सडक सुचारु गर्ने प्रयास भइरहेको र थप प्रहरी टोली समेत परिचालन गरिएको प्रहरीको भनाइ छ।
इप्रका ठिंगनबाट करिब ८ किलोमिटर उत्तरतर्फ पर्ने उक्त स्थानमा अहिले पनि सडक अवरुद्ध रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
Shares

प्रतिक्रिया