समाज


थपिए ८ लाख ३७ हजार भन्दा धेरै मतदाता

थपिए ८ लाख ३७ हजार  भन्दा धेरै मतदाता

नेपालखबर
मंसिर ७, २०८२ आइतबार ७:५६, काठमाडौँ

नेपालमा आठलाख ३७ हजार भन्दा धेरै मतदाता थपिएका छन्। 

आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदाता नामावली दर्ता प्रक्रियामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन आयोगका अनुसार मंसिर ५ गतेसम्म आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ताका लागि आयोगमा निवेदन दिएका छन्। 

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सरकारले अध्यादेशबाट नामावली दर्ता प्रक्रिया सुरु गर्ने घोषणा गरेयता आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ता गराएका छन्। 

सुरुमा कात्तिक ३० गतेसम्म नामावली दर्ता गर्ने समयसीमा राखेको आयोगले सरकारको आग्रहमा नामावली दर्ताको म्याद मङ्सिर ५ गतेसम्म थप गरेको थियो। 

आयोगको वेबपोर्टलमार्फत अनलाइन प्रविधिबाट तीन लाख ४४ हजार ९१४ जनाले नामावली दर्ता गराएका छन्। जसमध्ये एक लाख ९२ हजार ८९० जना पुरुष र एक लाख ५१ हजार ९८० जना महिला छन्। आयोगका अनुसार ४४ जना लिंग अन्य उल्लेख गरेर पनि मतदाताले नामावली दर्ता गराएका छन्। 

आयोगका अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट चार लाख ९२ हजार १८० जनाले नामावली दर्ता गराएका छन्। जसमध्ये दुई लाख ८० हजार ३६५ पुरुष, दुई लाख ११ हजार ७९८ महिला र १७ जना अन्य छन्। 

राष्ट्रिय परिचयपत्र वाहक नागरिकले राष्ट्रिय पञ्जीकरण विभागबाट दर्ता गराउँदा बायोमेट्रिक दिन नपर्ने हुँदा नामावली दर्तामा थप उत्साह देखिएको आयोगले जनाएको छ। 

आयोगको पोर्टलबाट करिब ५५ दिनमा दर्ता भएको सङ्ख्याभन्दा करिब एक लाख ५० हजारभन्दा बढी नागरिकले पञ्जीकरण विभागबाट सुरु भएको एक सातामै नामावली दर्ता गराएका छन्। 

आयोगको पछिल्लो अद्यावधिक विवरण अनुसार नेपालमा अब मतदाताको सङ्ख्या एक करोड ९० लाख पाँच हजार ३२४ पुगेको छ। यसअघि मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० जना थियो।

यसैबीच आयोगले यही मङ्सिर २१ गतेदेखि २७ गतेभित्र अद्यावधिकका लागि निवेदन दिन पनि आग्रह गरेको छ। सो अवधिभित्र परेको दाबीविरोध, दोहोरिएको नाम हटाउने, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन निवेदन परेपछि सोमाथि छानबिन गरी पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad