नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा रहेको एक समूहले सुनसरीको दुहबीमा टायर बालेर प्रदर्शन गरेको छ।
बस्नेत कोसी प्रदेशमा आउने भएपछि प्रहरीले सुरक्षा सक्रियता बढाएको छ।
आइतबार बिहान विराटनगरमा बस्नेतलाई लोला हानेर मसी छर्किएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
विराटनगरबाट सुनसरीतर्फ लागेका बस्नेतलाई दुहबीमा टायर बालेर अवरोध सिर्जना गर्न खोजिएको छ।
जेनजीको नाममा एक समूहले उनको विरोधमा टायर बालेका हुन्।
सुनसरीमा हुने सभालाई सम्बोधन गर्न इटहरीतर्फ जाने क्रममा दुहबी नगरपालिका अगाडि केही युवा भेला भएर टायर बालेका हुन्।
टायर बाल्ने क्रममा केही युवाहरूलाई प्रहरीले हटाएर बाटो क्लियर गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अहिलेसम्म सुरक्षामा कुनै पनि समस्या देखिएको छैन।
नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपालले आज इटहरीमा जनजागरण अभियान अन्तर्गत कार्यक्रम आयोजना गरेको छ।
विराटनगर विमानस्थलबाट बाहिर निस्कने क्रममा दुईजना युवाले लोला हानेर बस्नेत चढेको गाडीमा आक्रमण गरेपछि दुई जना पक्राउ परेका छन्। पक्राउ परेका सन्जोग गौतम र अर्पित कुँवरलाई अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ।
बस्नेत अहिले इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका छन्। बस्नेतले आफूमाथि भएको आक्रमणको बारेमा रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय भएको बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा–जुलुस र देशभर स्वतन्त्र रूपमा आवत–जावत गर्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदैन।’
Shares

प्रतिक्रिया