समाज


‘बुद्धले तपस्या गरेको’ अलौकिक पाकडी वृक्ष, जहाँ पुग्दा मनमा शान्ति मिल्छ

‘बुद्धले तपस्या गरेको’ अलौकिक पाकडी वृक्ष, जहाँ पुग्दा मनमा शान्ति मिल्छ

छायाँ पन्थ
मंसिर ७, २०८२ आइतबार १५:१५, तिलोत्तमा (रुपन्देही)

तिलोत्तमा वडा नं ४ कि नरमाया क्षेत्री शान्त ठाउँको खोजीमा देवदहस्थित पाकरी वृक्षमा पुग्छिन्। रुपन्देहीको देवदह नगरपालिका वडा नं ८ मा रहेको पाकरी वृक्ष शान्त र मनोरम ठाउँ हो। पाकरी वृक्ष पुग्नुअघि त्यहाँका बारेमा उनले अरुबाट नै जानकारी पाएर त्यहाँ पुगेकी हुन्

‘जस्तो सुनेकी थिएँ, त्यस्तै रहेछ यो ठाउँ, सुन्दर, शान्त अनि मनै आनन्दित हुने’, नरमाया भन्छिन्, ‘यहाँ आइपुग्दा आनन्दको आभाष पाएँ, पहिलो पटक पुग्दा नै आकर्षित भएँ त्यसैले यो ठाउँमा पटकपटक आउन मन लाग्छ।’

यस्तै, बुटवल उपमहानगरपालिका वडा नं १५ कि आरती राना पनि पाकडी वृक्षमा धेरैपटक पुगेकी छन्। आरती पनि सुन्दर, शान्त र मनोरम ठाउँमा रमाउन तथा मनलाई आनन्दित बनाउन त्यहाँ पुग्ने गरेको बताउँछिन्। आरतीलाई पाकडी वृक्षले मोहित बनाएको छ। उनी भन्छिन्, ‘जब त्यहाँ पुगिन्छ साँच्चिकै स्वर्गमा पुगेको भान हुन्छ।’

तिलोत्तमा वडा नं १५ निवासी हिमाल सुनार पाकडी वृक्षमा पुगेर आनन्दले बस्ने र फोटो तथा भिडियो बनाउने गर्छन्। हिमाललाई यो ठाउँ वास्तवमै स्वर्ग लाग्छ। पाकडीका बारेमा अरुबाट थाहा पाएर त्यहाँ पुगेका हिमाललाई त्यो ठाउँमा बसेर मन अघाउँदैन। 

यस्तै पाकरी वृक्षमै भेटिएकी तिलोत्तमा वडा नं ३ की अप्सरा खत्रीले पनि यहाँ आत्मसन्तुष्टिका लागि आएको बताइन्। शान्त वातावरण र शीतल हरियाली भएको सो वृक्षमा तिलोत्तमा–३ कै कोमल कुँवर पनि भेटिए। उनी पनि शीतल र शान्त वातावरणको खोजीमा पटकपटक पुग्छन्। 

एसियाकै सबैभन्दा ठूलो वृक्षका रुपमा लिइने यो वृक्षको ऐतिहासिक महत्व रहेकै कारण दिनहुँ सयौँ आन्तरिक पर्यटक पाकरी वृक्षमा रमाउन पुग्ने गरेका छन्। हेर्दा सुन्दर, सधैँ हरियाली, शीतलताले भरिपूर्ण पाकरी वृक्षले सबैलाई आकर्षित गरेको छ। अलौकिक विशेषताले भरिपूर्ण यो वृक्षमा बौद्धकालीन सम्बन्ध जोडिएको भन्ने पनि गरिन्छ। प्राचीन कोलीय राज्यमा होम यज्ञ गर्नका लागि प्रयोग गरिएको पावन स्थानबाट पाकरी वृक्षको उत्पत्ति भएको भन्ने स्थानीयको जन विश्वास रहेको छ। 

यो वृक्ष भगवान् गौतम बुद्धको मावली देवदह क्षेत्रमा पर्ने भएकाले यस वृक्षको फेदमा बसेर गौतम बुद्धले ध्यान गरेको मान्यता पनि छ। यी सबै कुरा बौद्ध ग्रन्थमा कहीँकतै पनि उल्लेख नभएको लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक इन्द्र काफ्ले बताउँछन्। देवदहको वडा नं ८ मा रहेको यो वृक्ष पूर्व–पश्चिम महेन्द्र राजमार्गको शीतलनगर चोकदेखि दुई किमी दक्षिणमा रहेको छ। यस वृक्षकाबारेमा थाहा पाउनेहरु अवलोकनका लागि पुग्ने गरेका छन्। 

यो वृक्ष अवलोकन गर्न र यससम्बन्धी जानकारी लिन नेपालभरबाटै पर्यटक पुग्ने गरेको सहजकर्ता रुद्र पाण्डे बताउनुहुन्छ। यहाँ सामान्य मानिसदेखि विभिन्न तहमा अध्ययनरत विद्यार्थी, बुद्धिष्टहरु, अनुसन्धानकर्ता, प्रेमील जोडी र अन्य मुलुकबाट  पर्यटक पुग्ने गरेको पाण्डेले जानकारी दिए। पछिल्लो समय पाकडी वृक्ष सबैको आकर्षणको केन्द्र बनेको छ। यो वृक्ष देवदहको पहिचानका रुपमा स्थापित रहेको छ। 

देवदह यसै पनि भगवान् गौतम बुद्धको मावलीका रुपमा अन्तरराष्ट्रियस्तरमै परिचित पवित्र स्थल हो। यो मात्र नभइ देवदहमा बौद्धकालीन स्थल दर्जनौँ भए पनि पर्याप्त रुपमा उत्खनन हुन सकेका छैनन्।

उत्खनन् भए पनि कछुवाको तालमा हुन्छ। साथै प्रचारप्रसारको अभाव भएको स्वयं नगरपालिकाका जनप्रतिनिधि स्वीकारछन्। देवदहमा भवानीपुर, खयर डाँडाजस्ता बौद्धकालीन स्थल दर्जनौँ छन्। तर त्यसको उचित विकास र प्रचारप्रसारको कमी छ।

वृक्षको विशेषता 
द ट्रि अफ हेभनका उपमा पाएको यो वृक्ष ८२ फिट अग्लो अर्थात् करिब ३० मिटर उचाइ छ। झण्डै ३० मिटर परिधि भएको वृक्षले एक कट्ठा जमिन पूरै ओगटेको छ। कहिल्यै उजाड नहुने सधैँ हरियो रहिरहने यो वृक्षमा गिद्ध, बकुल्ला, चील बाजजस्ता चरा कहिल्यै बस्दैनन्। अलौकिक विशेषता रहेको यो वृक्षको फेदमा बसेर गौतम बुद्धले ध्यान गरेको मान्यता छ। यो वृक्षको जरा तथा हाँगामा विभिन्न जीवका साथै भगवान्का आकृति देखिने सहजकर्ता पाण्डेले बताए। अर्को अनौठो कुरा यो वृक्षको नजिक हात्ति कहिल्यै पनि नगएको स्थानीय बताउँछन्।

वृक्षका फाइदाहरू 
पाकरी वृक्ष सधैँभरि हरियो रहिरहने र यसबाट प्रशस्तै अक्सिजन पाइन्छ। यसको नजिक पुग्दा मानिसलाई सकारात्मक उर्जा मिल्छ। ‘हेर्दा निकै सुन्दर देखिने यस वृक्ष प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ। यसका साथै धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण छ’, सहजकर्ता पाण्डेले भने, ‘मानिसहरू यहाँ आएर ध्यान गरेर आफ्नो मनलाई शान्त पार्दै स्वर्गीय आनन्द प्राप्त गर्छन्।’ 

पाण्डेले वृक्ष अवलोकन गर्न पुग्ने पर्यटकका लागि वृक्षकाबारेमा जानकारी दिने गर्छन्। सो स्थानकाबारेमा जानकारी दिन नगरपालिकाबाटै उनलाई खटाइएको छ। तर पाकरी वृक्षमा पुग्न भने त्यति सहज छैन। यहाँ पुग्नका लागि कहीँकतै कुनै पनि प्रकारका सूचना भेटिँदैनन्। टाढाबाट त्यहाँ पुग्दा भोकाएका तिर्खाएकालाई वरिपरि कुनै सुविधा छैन। 

पाकडी वृक्ष संरक्षण र भौतिक पूर्वाधारका लागि नगरपालिकाले हरेक आर्थिक वर्षमा बजेट विनियोजन गर्ने गरेको छ। तर जग्गा अभावमा वृक्ष वरिपरि पर्खाल लगाउने कामबाहेक अरु कुनै महत्वपूर्ण भौतिक उपलब्धि हुन नसकेको देवदह वडा नं ८ की स्थानीय बासिन्दा अनुराधा लोधले बताए। वृक्ष संक्षणका लागि वृक्ष वरिपरि पर्खाल तथा तार लगाइएको छ भने रेखदेख र त्यहाँ पुग्ने पर्यटकका लागि पाकरी वृक्षको जानकारी दिन नगरपालिकाबाट कर्मचारी खटाइएको छ।

ऐतिहासिक र पुरातात्त्विक महत्त्वको भएकाले कहीँकतै विनाश नहुने गरी काम गर्नुपर्दा सुस्तगतिमा काम गर्नुपर्ने बाध्यता भएको नगर प्रमुख ध्रुव खरेलले बताए। उनी भन्छन्, ‘वृक्ष भएको जग्गा कुनै एक व्यक्तिका नाममा छ, तर उनले दानस्वरुप हस्तान्तरण गरिसक्नुभयो, भएको जमिन वृक्षले नै ओगटेको छ, कुनै पनि भौतिक संरचना र विकासका लागि एकल प्रयासले मात्र सम्भव नहुने रहेछ, बाटोघाटो पनि विस्तारै बनाउँदै छौँ।’ 

नगर प्रमुख खरेलले वृक्ष भएको सो जग्गा सरकारलाई नै हस्तान्तरण गरे पनि जग्गा नामसारी भने नभएको प्रष्ट पारे। वृक्षको समग्र विकास र विस्तारका लागि जग्गा कमी भएकाले थप गर्नुपर्ने बाध्यता रहेको बताए। साथै वृक्ष वरिपरिको जग्गा थप गर्ने प्रक्रियामा रहेको नगर प्रमुख खरेलको भनाइ छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad