समाज


त्यो दिन जेनजी आन्दोलनमा नगएका भए यतिबेला अस्ट्रेलियामा हुन्थे २२ वर्षे रसिक

त्यो दिन जेनजी आन्दोलनमा नगएका भए यतिबेला अस्ट्रेलियामा हुन्थे २२ वर्षे रसिक

रसिक खतिवडा खत्री


मधु शाही/रासस
मंसिर ११, २०८२ बिहिबार ८:४५, काठमाडौँ

‘मिठो मानेर चिया खाइदिनुहोस् है! छोराको आत्मा खुसी हुन्छ। मंसिर १० गते। उसको जन्म दिन हो।’

बुधबार बिहान कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबलीमा पुरुषोत्तम र उनकी पत्नी रचना खवितडा खत्री थर्मसमा राखिएका चिया र मालपुवा बाँड्दै थिए। 

सडकमा रहेका असहायहरूको खोजी गर्दै चिया खुवाउँदै थिए उनी। मंसिर १०, जेनजी आन्दोलनमा सहिद भएका रसिक खतिवडा खत्रीको जन्मदिन थियो।

रसिक जीवित भएको भए जन्मदिनमा सधैँ आफैँले चिया पकाएर बिस्कुट, मालपुवा, दुनोट केही न केही खानेकुरा बाँड्न सङ्कटा, वसन्तपुर पुग्थे। छोराको त्यही शैली पछ्याउँदै पुरुषोत्तम दम्पती उनको जन्मदिनमा चिया खुवाउन वसन्तपुर पुगेको थियो। 

‘ऊ यसरी नै आफ्नो जन्मदिनमा सडकका असाहयहरूलाई खाजीखोजी चिया खुवाउँथ्यो’, आमा रचनाले स्मरण गर्दै भनिन्, ‘दीनदुःखी देख्नै नसक्ने मेरो छोरोको के गल्ती थियो? अनाहकै ज्यान गुमायो।’

छोराको सम्झनामा रचनाको रुनुबाहेक विकल्प छैन। रसिकले गरेका हरेक राम्रा बानी र व्यवहार मात्रै आफ्नो आँखाभरि फनफनी नाच्ने गरेको उनले बताइन्। 

जति दिन बित्छ, रचनाको कोखले छोरो खोजिरहन्छ। चिच्याएर रुनु पनि कति रुनु? रचनाका अनुसार छोराको सम्झनामा रुँदारुँदै आँसु सुकिसकेको छ। मन चर्किरहन्छ। रसिक बाँचेको भए मंसिर १० गते २३ वर्षमा लाग्थे। 

बल्लतल्ल हुर्काएको छोरोले बिनाकसुर ज्यान गुमाउनु पर्दा राज्यसँग रचनाका थुप्रै प्रश्न छन्।

उनी भन्छन्, ‘किन मारियो मेरो छोरो? के गल्ती थियो उसको?’

रचनाको दिमागमा आक्रोश, प्रश्न र छोराका स्मरण नाचिरहन्छन्। बुबा पुरुषोत्तम छोराको दयालु स्वभाव भुल्न सक्दैनन्। 

उनी रसिक बित्नुभन्दा १२ दिनअघिको घटना सम्झिन्छन्। 

त्यो दिन कान्छो छोरोलाई जस्तै गरी मायाले हुर्काएको कुकुर बित्यो। एक दशकदेखि आँखाअगाडि नाचिरहने कुकुर अचानक मरेर जाँदा मानव संवेदना हो, रुनु स्वाभाविक थियो । कुकुर बितेपछि रुँदै बसिरहेका आमा-बाबालाई फकाउँथे रसिक। 

उनले त्यतिबेला जीवन हो, आउँछ-जान्छ, स्वीकार्नुपर्छ भन्ने आशयमा आफूहरूलाई सम्झाएको कुरा पुरुषोत्तमको मनमा छाप बनेर बसेको छ। 

उनका एक मात्रै २२ वर्षे छोरा रसिक भदौ २३ गतेको जेनजी आन्दोलनमा सहिद भए। 

छोरो गुमाउँदाको घाउ आलै छ। त्यही घाउमा मल्हम लगाउने आधार खोज्दै पुरुषोत्तम जेनजी आन्दोलनका सहिदलाई न्याय दिलाउन संघर्षरत छन्। 

‘छोरो बितेको अर्को दिनदेखि नै हामी सहिद घोषणा गर्नुपर्ने र राज्यले सम्मान दिनुपर्ने आवाज चर्काउँदै आएका थियौँ। अहिलेसम्म निरन्तर लागेका छौँ’, उनी भन्छन्, ‘२२ वर्षे छोराले जुन परिपक्कताका साथ जीवन हो, आउँछ जान्छ भनेको थियो, त्यसैलाई स्वीकार गरेर न्यायको पक्षमा लागिरहेको छु।’

जेनजी आन्दोलनका सहिदका परिवारले केही राहत पाए पनि आहत भने जीवनभर नमेटिने उनले बताए। 

उनीहरूको अहिलेको एउटै एउटै माग छ, ‘दोषिलाई कारबाही गर्नुपर्छ। अनि मात्रै सहिदले न्याय पाउँछन्।’

रसिक २०६० माघमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० मा जन्मिएका थिए। होटेल म्यानेजमेन्ट विषय पढिरहेका रसिकको सपना स्वदेशै बसेर व्यवसाय गर्नु थियो।

कलिलो तन, रसिलो भावसँगै अन्याय पटक्कै नसहने विद्रोही स्वभावले रसिकलाई परिवार र साथीभाइ माझ सधैँ यादगार बनाएको छ।

उनका बुबा पुरुषोत्तमका अनुसार सानैदेखि रसिकमा अन्याय सहने स्वभाव थिएन। एक दिन बाटोमा हिँड्दै गर्दा कसैले एक महिलालाई जिस्क्याएछ। ती युवती कराउँदै थिइन्। बाटोमा आउनेजानेले खासै वास्ता गरेका थिएनन् तर बुबाको हात समाउँदै बजार हिँडिरहेका रसिकले आँखा छलेर ती युवतीलाई परेको समस्या के हो भन्दै सोधेछन्। 

विवादमा नफस भन्दै सम्झाउँदा पनि रसिकले कसैलाई अन्याय परेको छ भने साथ दिनुपर्छ भनेको बुवा पुरुषोत्तम सम्झिन्छन्।

ज्याकेट पसल थियो। त्यतिबेला रसिक सानै थिए। एक दिन पसलबाट दुई/चारवटा ज्याकेट निकालेर साथीभाइलाई बाँडेछन्।

छोराको यो ताल देखेपछि पुरुषोत्तम रिसाए। किन यस्तो गरेको भनेर सोध्दा रसिकले भनेका थिए, ‘बुबा मेरा साथीहरूसँग ज्याकेट किन्ने पैसा छैन। जाडो छेक्ने लुगा छैन। हामीले सहयोग नगरे कसले गर्ने?’

त्यो बालकको निर्दोष र कमलो भाव देखेर पुरुषोत्तमको रिस एकाएक सेलायो। छोराको उदारताबाट उनी प्रभावित भए। 

रसिकको व्यवहारले घरमा धेरैलाई पाठ सिकाएको छ। आमा रचनाका लागि रसिक छोराभन्दा बढी साथी थिए। 

आमालाई चिया पकाएर खुवाउँथे रसिक। अहिले चिया पकाउँदा र चिया शब्द सुन्नासाथ छोरा रसिककै झल्को आउने गरेको रचना बताउँछिन्। 

गत भदौ २३ गते बिहान खाना खाएर आन्दोलनमा जाने तयारी गर्दैगर्दा रसिकलाई आमा–बुबाले नजान भनेर रोक्न धेरै प्रयास गरे। तर जोसिला र ऊर्जाशील रसिकले ‘यो हाम्रो पुस्ताको आन्दोलन हो, जानुपर्छ’ भन्दै बानेश्वरतिर निस्किए।

जाँदाजाँदै उनले भनेका थिए, ‘मामु म आएर चिया पकाएर खुवाउँछु है। पीर नगर्नु।’

बुबा पुरुषोत्तम र आमा रचना छोराले चिया खुवाउने वाचा गरेको सम्झँदै भावुक हुन्छन्। छोराको निधन भएपछि आमा रचनाका आँखा ओभानो छैनन्। बुबा पुरुषोत्तम भने बलियो मन बनाएर छोराको सपना पुरा गर्न लागेका छन्। 

गितार बजाउँदै र्‍याप गाउने रसिकको रसिलो स्वभावले खतिवडाको परिवार रङ्गमञ्चजस्तै थियो। 

‘उसलाई बालेनको गीत निकै मन पर्थ्यो’, पुरुषोत्तम सुनाउँछन्, ‘गितार बजाउन निकै रहर गर्थ्यो।’

जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते दिउँसो गोली लागेको थियो रसिकलाई। 

त्यही कारण उनले संसार छाडिसके तर आमाबुबालाई यो वास्तविकता विश्वास गर्न अझै मुस्किल परिरहेको छ। 

घटना भएको दिन साथीहरूले गोली लागेर ढलेका रसिकका ज्याकेट र मोबाइल घर पुर्‍याइदिएका थिए।

तर उनीहरूले रसिक क्याफेमा छ भन्दै आमा रचनालाई झुटो बोले। त्यतिबेलासम्म पनि रचनालाई छोरो यस संसारबाट बिदा भइसक्यो भने सुइँको नै थिएन।

तर, पछि अस्ट्रेलियामा रहेकी छोरीले रसिकको अवस्थाबारे भिडिओ पठाएपछि रचना छाँगाबाट खसेजस्ती भइन्। 

पुरुषोत्तम नेपाल टेलिकमका कर्मचारी हुन्। अघिल्लो दिन भदौ २२ गते मात्र उनी छोरासँग भेट गरेर काठमाडौँ बाहिर गएका थिए। त्यही भेट अन्तिम बन्यो। 

छोराले अचानक संसार छाडेको कुरा अहिले पनि उनलाई सपनाजस्तै लाग्छ। 

उनी भन्छन्, ‘उसको र मेरो त्यही दिन अन्तिम भेट थियो।’

छोराछोरीका लागि बुबा-आमाले ठुलो संघर्ष गरेका हुन्छन्। उनीहरूको उज्ज्वल भविष्यका लागि अनेक दुःख सहन्छन्। 

जसका लागि दुःख गरेको हो ऊ नै नरहँदा पीडा सहन गाह्रो भइरहेको पुरुषोत्तम बताउँछन्। 

रसिक बाँचेको भए यतिबेला अस्ट्रेलियामा दिदीसँगै हुने थिए। 

होटेल म्यानेजमेन्टका विद्यार्थी रसिकले विदेशबाट कमाइ गरेर नेपालमा आई ठूलो रेस्टुरेन्ट खोल्ने सपना साँचेका थिए। 

उद्योग व्यवसायमा युवाहरूको प्रशस्त सम्भावना देखेका रसिकको इच्छामा पुरुषोत्तम सहयोगी थिए। तर, अब त्यो सपना रसिकको निधनसँगै बिलाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad