समाज


काठमाडौँ महानगरले डिजिटल साक्षरता प्रशिक्षण दिने

काठमाडौँ महानगरले डिजिटल साक्षरता प्रशिक्षण दिने

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १२:१८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले नगरवासीलाई विद्युतीय सेवासम्बन्धी काम गर्न सक्षम बनाउनका लागि डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण दिने भएको छ। इन्टरनेटजन्य असुरक्षाबाट बचाउन डिजिटल साक्षरतासम्बन्धी प्रशिक्षण कार्यक्रम प्रारम्भ गर्न लागिएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

प्रवक्ता मानन्धरका अनुसार प्रविधिको बढ्दो प्रयोगलाई उपयोगी काममा प्रयोग गराउन तथा प्रविधिजन्य जोखिमबाट बचाउन यस प्रकारको प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको हो।

‘प्रविधिको प्रयोगसँगै इन्टरनेटको सही उपयोग र आधारभूत डिजिटल सुरक्षाका बारेमा हरेक व्यक्तिलाई थाहा हुनुपर्छ’, प्रवक्ता मानन्धरले भने, ‘प्रविधिको उपयोगले जीवनलाई जति सहज बनाउँछ, चलाउँदा ख्याल गरिएन भने जोखिम पनि उत्तिकै बढाउँछ।’ 

प्रविधिको सही प्रयोगबाट सेवामा सहज पहुँच बढाउन र यसमा हुनसक्ने जोखिमबाट महानगरवासीलाई बचाउन प्रशिक्षण चाहिएको प्रवक्ता मानन्धरको भनाइ छ।

उनका अनुसार हामीले कार्यान्वयन गर्न चाहेको विद्युतीय शासनको प्रभावकारी कार्यान्वयनका लागि नागरिकलाई आत्मविश्वासका साथ प्रविधि चलाउन सक्ने बनाउनुपर्छ । साइबर सुरक्षाका विषयमा जानकार बनाउनुपर्छ । प्रशिक्षणबाट यो दायित्व पूरा हुन्छ । नेपालको शासन प्रशासनलाई पारदर्शी बनाउन डिजिटल नेपाल बनाउनुपर्ने पनि उनको भनाइ छ।

कामपा सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालका अनुसार पहिलो चरणमा वडा नं १७, १८, १९ र २९ मा प्रशिक्षण सुरु गरेर क्रमशः अन्य वडामा विस्तार गर्दै लगिनेछ। डिजिटल साक्षरतालाई प्रशिक्षार्थीको सूचना प्रविधिसँगको ज्ञानका आधारमा आधारभूत, मध्यम र विशिष्ट विषय राखेर प्रशिक्षण गराउन सकिन्छ।

मोबाइल प्रविधि प्रशिक्षणका लागि पहिलो आवश्यक विषय हो। स्मार्टफोनलाई सही सेटिङ गरिएन भने व्यक्तिगत विवरण चोरी हुनसक्छ। गलत एप्लिकेसनबाट व्यक्तिगत, पारिवारिक सूचना अर्काले लिएर आपराधिक क्रियाकलापमा प्रयोग गर्न सक्छ।

यसका लागि एप्लिकेसनको जोखिमबाट बच्ने तरिका, मोबाइल डाटाको प्रयोग, वाइफाइको प्रयोग र सुरक्षा हरेक प्रयोगकर्तालाई थाहा हुनुपर्छ। डिजिटल वित्तीय साक्षरता, मोबाइल बैंकिङ र वालेट्स, अनलाइन भुक्तानी, यसमा हुनसक्ने ठगी र बच्ने उपाय इन्टरनेट चलाउने हरेक व्यक्तिलाई ज्ञान हुनपर्छ।

व्यक्तिगत गोपनीयतासँगै साइबर सुरक्षाका लागि बलियो पासवर्ड राख्ने तरिका, ओटिपि (वन टाइम पासवर्ड)को प्रयोग, भाइरस, एन्टी भाइरस, शङ्कास्पद लिङ्कको पहिचान र यसबाट बच्ने तरिका जान्नुपर्छ। यी सबै विषयमा महानगरवासीलाई बुझ्न सक्ने बनाउन प्रशिक्षण सञ्चालन गर्न लागिएको कामपाको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad