समाज


तोरीले पहेँलपुर बेथानचोकका बारी

तोरीले पहेँलपुर बेथानचोकका बारी

नेपालखबर
मंसिर १५, २०८२ सोमबार २१:५५, धुलिखेल

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी फुलेर यहाँका दृश्य निकै आकर्षक देखिएको छ। 

स्थानीय किसान हरिप्रिया सापकोटाको बारीमा तोरी फूलले गाउँकै सुन्दरता थपेको छ। उनले बारीभरि फुलेका तोरीले त्यहाँ पुग्नेहरुको मन लोभ्याउने गरेको बताइन्।

‘बारीमा पहेँलपुर देखिने गरी तोरीको फूल फुलिरहेको छ, केही कालो तोरीको बोट हुर्किंदै छन्। केही भागमा भने मिश्रित रुपमा आलुखेतीसमेत छ। यसले यहाँको सुन्दरता थपेको छ’, सापकोटाले भनिन्, ‘गाउँलाई सुन्दर बनाउने मात्रै होइन, यहाँको उत्पादन राम्रो आम्दानीको स्रोत भएको छ। त्यसैले नगदे बाली तोरीखेतीलाई निरन्तरता दिँदै आएका छौँ।’

सोही वडाका अर्का किसान एवं माउण्ट महाभारत ‘होमस्टे’का सञ्चालक कमल नेपालले घरायसी प्रयोग र बिक्रीबाट आम्दानी हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भइरहेको बताए।

‘कृषकले खाद्यान्न बाली मकै भित्र्याएपछि नगदे बालीको रूपमा तोरीखेती गर्दै आएका छौँ’, उनले भने, ‘जसले फुल्ने बेला वातावरणलाई सुन्दर बनाउने मात्रै होइन उत्पादक  कृषकलाई घरायसी प्रयोग र बिक्रीबाट आम्दानी पनि भइरहेको छ।’ 

पर्यटकीय हिसाबले प्रसिद्ध सो ठाउँमा भएको तोरीखेतीको आकर्षक दृश्यले स्वदेशी तथा विदेशी पर्यटकलाई थप आकर्षिक बनाउने गरेको नेपालले बताए।

बेथानचोक गाउँपालिका कृषि शाखाका नायब प्राविधिक सहायक मधुसुदन दाहालका अनुसार गाउँपालिकाको ४० देखि ४५ हेक्टर क्षेत्रफलमा तोरीखेती भइरहेको छ। यसबाट प्रतिहेक्टर क्षेत्रफलमा एक दशमलव दुई मेट्रिक टन तोरी उत्पादन हुँदै आएको उनले बताए।

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले गाउँपालिकाको सबैजसो वडामा तोरीखेतीको राम्रो उत्पादन हुँदै आएको बताइन्। पालिकाको केही क्षेत्रमा तुषारोले समस्या पार्नेबाहेक सबैजसो ठाउँमा अधिकांश किसानले यसबाट लाभ लिँदै आएको उनको भनाइ छ। 

‘अझ गाउँपालिकाको वडा नं १ च्याम्राङबेँसी माथिल्लो गाउँका किसानमध्ये एक घरले वार्षिक रूपमा १०/१२ मुरिसम्म उत्पादन गर्दै आएका छन्’, उनले भनिन्, ‘त्यसरी खेती गर्ने किसानको समस्यालाई सम्बोधन गर्नका लागि पालिकाले पनि प्रोत्साहन गर्दै आएको छ। नीति कार्यक्रम बनाउनुअघि छलफल गरेर अगाडि बढ्ने गरेका छौँ।’

हाल तोरीको फूल फुल्ने मौसम भएकाले पालिकाको सबैजसो बारीका पाटाभरि पहेँलपुर हुनेगरी फूल फुलेको देख्न पाइन्छ। यहाँका किसानले तोरीका अतिरिक्त आलु र अन्य तरकारीखेती गर्दै आएका छन्, जसबाट मनग्य आम्दानी हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad