समाज


एउटा स्थानीय तह जसले गाउँबाट राहत ल्याएर काठमाडौँमा बाँड्यो

एउटा स्थानीय तह जसले गाउँबाट राहत ल्याएर काठमाडौँमा बाँड्यो

यज्ञराज जोशी
बैशाख १८, २०७७ बिहिबार १२:३२,

चैत ११ बाट सुरु भएको लकडाउन अहिलेसम्म जारी छ। कोरोना संक्रमण फैलिन नदिन यही नै प्रभावकारी उपाय भएको सरकारको भनाइ छ।

तर, लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा रहेका विपन्न परिवारलाई हातमुख जोड्नै धौ धौ पर्‍यो। त्यसैले हजारौँ मानिस लकडाउनकै माझ गाउँ फर्किए। स्थानीय तहहरुले गाडीको व्यवस्था गरेर आआफ्नो क्षेत्रका मानिस लगे।

यसरी मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्दा संक्रमणको जोखिम झनै बढ्ने देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउपालिकाले भने काठमाडौंमा रहेका आफ्नो क्षेत्रका बासिन्दालाई यहीँ ल्याएर राहत बाँड्ने निर्णय गर्‍यो।

‘कोरोनासँग जुध्न लकडाउन सफल हुनुपर्छ। लकडाउनको उदेश्य जो जहाँ छौं, त्यहीँ रहने भन्ने हो। यसलाई प्रभावकारी बनाउन हामीले यो कदम उठाएका हौँ,’ गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने, ‘र, अप्ठेरो परेकोहरु भोकै नपरुन् भनेर सबैको समन्वयनमा घर घरमा राहत पुर्‍याउने काम गरिसकेका छौँ।’

वैशाख २ गते गाउँपालिकाले काठमाडौंमा रहेका आफ्नो क्षेत्रका स्थायी बासिन्दालाई सम्पर्कका लागि सूचना निकाल्यो। सूचना पाएर १५ सय २५ घरधुरीले राहतका लागि फारम भरे।

फारम भरेकाहरुलाई परिवार संख्याको आधारमा कति राहत दिने भन्ने निर्णय गरियो।

‘एक जना मात्रै भएकालाई १० किलो चामल, दाल, गेडागुडी, तेल, नुन, दुई जना भएकालाई १८ किलो चामल, ३ जना भएकालाई २५ किलो चामल, ४ वा ४ भन्दा बढी भएकालाई ३० किलो चामल र त्यही अनुपातको दाल, गेडागुडी, तेल र नुन वितरण गर्ने मापदण्ड बन्यो,’ गाउँपालिका अध्यक्ष श्रेष्ठले भने।

सामान खरिदका लागि गाउँपालिकाले सुरुमा खाद्य संस्थानसँग सम्पर्क गरेको थियो। तर आवश्यक परिमाण नपुग्ने भएपछि बनेपाबाट आवश्यक सामग्री किनियो।

95136720_257493282070426_522334036840939520_n.jpg

तयार सामान पनि काठमाडौंमा ल्याई वितरण गर्ने कार्य त्यतिकै अप्ठेरो थियो। त्यसका लागि गाउँपालिकाले ७ टोली बनाएर परिचालन गर्‍यो।

‘राहत माग गर्नेहरु काठमाडौंमा विभिन्न ठाउँमा छरिएर बस्नुभएको थियो, उहाँहरुलाई फोन गर्दै खोज्दै खोज्दै जानुपथ्र्यो,’ श्रेष्ठले भने, ‘हामीले प्रहरी, वडाध्यक्षहरु र स्थानीय मान्छेहरुको साथ लियौं। राहत पुर्‍याउन ७ टोलीलाई ३ दिन लाग्यो।’

घरघरमा राहत पुर्‍याउने एउटा टोलीको नेतृत्व गरेका थिए वडा नम्बर ५ का अध्यक्ष सनत अधिकारीले। उनको टोलीले काठमाडौंका विभिन्न ठाउँमा छरिएर रहेका २ सय ५ परिवारलाई राहत बाँड्यो।

‘प्रत्येकलाई फोनबाट सम्पर्क गर्दै गाडी लिएर उनीहरु बस्ने ठाउँमै पुर्‍याएका थियौँ,’ अधिकारीले नेपालखबरसँग भने, ‘महामारीको बेला आफैँ खतरामा परेर काम गर्दा गाह्रो हुन्छ। तर, जनताका लागि काम गर्दा गाह्रो मान्नु भएन भनेर खटियौं। राहत ग्रहण गर्नेहरु पनि औधी खुसी हुनुहुन्थ्यो।’

राहत वितरणका क्रममा अधिकारी उपत्यकाका थली, लुभु, बालकोट, कलंकी, थानकोट लगायतका क्षेत्रमा पुगेका थिए।

यसरी गाउँबाट आएर काठमाडौंमा रहेका आफ्ना नागरिकलाई २७ लाख ४० हजार रुपैयाँको राहत बाँडिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए।

‘धेरैजनाले खुसी व्यक्त गरे। कतिपयले वितरण गर्नुभन्दा पनि गाउँमा ल्याइदिए हुन्थ्यो भन्ने चाहना व्यक्त गरे,’ श्रेष्ठले भने, ‘तर, हामीले यो तपाईंकै निम्ति हो, अहिले तपाईंहरु बेखुस भएपनि हामी सहन्छौं भनेर सम्झायौं।’

पहिलो चरणमा राहत वितरणमा केही परिवार छुटेको जानकारी प्राप्त भएको र तिनका बारेमा छलफल भइरहेको श्रेष्ठले बताए। लकडाउन अझै लम्बिए दोस्रो चरणमा वितरणका लागि छलफल हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad