केदारभक्त माथेमाससहितका २७ जना नागरिक अगुवाले वर्तमान सरकारको काममा अवरोध नगर्न साझा अपिल गरेका छन्।
उनीहरूले नागरिक समाजको तर्फबाट साझा अपिल जारी गर्दै जेनजी आन्दोलनपछि देश संवेदनशील एवं जटिल मोडमा पुगेको मुलुकलाई स्थिरता र लयमा फर्काउने जिम्मेवारी वर्तमान सरकार, राजनीतिक दल, नवयुवासमेत सबैको भएको भन्दै वर्तमान सरकारलाई सहयोग गरेर मुलुकलाई निकास दिन आह्वान गरेका हुन्।
‘राज्य कमजोर बनेको यो संवेदनशील घडीमा निर्वाचनको म्याण्डेट लिएर बनेको सरकारमाथि उसको म्याण्डेट र क्षमताभन्दा बाहिरका माग राख्ने, निहित राजनीतिक, समूहगत वा व्यक्तिगत एजेण्डा अघि सारेर अवरोध गर्ने र अनावश्यक भ्रम छर्ने तथा आशंका फैलाउने गतिविधिहरूले राष्ट्रलाई झनै कमजोर बनाउने निश्चित छ,’ अपिलमा भनिएको छ, ‘हामी सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ, यदि यो सरकार असफल भयो र निर्धारित मितिमा निर्वाचन हुन सकेन भने त्यसपछि उत्पन्न हुने रिक्तता र अनिश्चितताको अवस्था देशका लागि कति गम्भीर र दुरगामी हुन सक्छ।’
उनीहले अपिलमा नेपालको संविधान र यसबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै जेन्जी (नवयुवा) आन्दोलनको तारो बनेको भ्रष्टाचार, नातावाद, कृपावाद, कुशासन जस्ता देशका दुस्मन प्रवृत्तिको अन्त्य गर्दै मुलुकलाई असल शासनको बाटोमा लैजान र राष्ट्रलाई थप अप्ठेरोमा नपारी सबैको अर्जुनदृष्टि २०८२ फागुन २१ गते हुने आम निर्वाचनमा केन्द्रित गर्न हामी आव्हान गर्दछौं।’
उनीहरुले निर्वाचनका माध्यमबाट मात्रै संवैधानिक प्रक्रिया जीवन्त रहने र राजनीतिक दलहरूले अर्थपूर्ण गति पाउने बाटो निर्विघ्न रहने पनि बताएका छन्।
‘यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोगसँग हामी विशेष आग्रह गर्दछौँ,’ अपिलमा भनिएको छ, ‘सफल निर्वाचनमै यो सरकारको औचित्य पुष्टि हुने सत्यतालाई मनन गर्दै सरकारको प्रयास र कामकारवाही त्यसमै केन्द्रित होस् र बन्दै गएको निर्वाचन वातावरणलाई प्रतिकुल असर पार्न सक्ने कुनै कार्य नहोस् भनी हामी खबरदारी समेत गर्दछौँ।’
त्यसरि अपिल गर्नेमा माथेमासहित अर्चना थापा, इन्द्र अधिकारी, उद्धव प्याकुरेल, कनकमणि दीक्षित, कृष्ण खनाल, कृष्ण पोखरेल, खगेन्द्र संग्रौला, गजाधर सुनार, गेजा शर्मा वाग्ले, चन्द्र किशोर, चरण प्रसाइँ, जेबी विश्वकर्मा, तुलानारायण साह, दीपेन्द्र झा, दोभान राई, भोजराज पोखरेल, महेश मास्के, राजेन्द्र दाहाल, स्टेला तामाङ, सूर्य ढुंगेल, सुवोधराज प्याकुरेल, सुशील प्याकुरेल, हरि शर्मा, विजयकान्त कर्ण, विद्याधर मल्लिक र वीरेन्द्रप्रसाद मिश्र छन्।

Shares

प्रतिक्रिया