समाज


गौरीघाट पुलमा गाडी रोक्न सिँढी बनाइँदै, अशक्त र ज्येष्ठ नागरिकलाई सकस

गौरीघाट पुलमा गाडी रोक्न सिँढी बनाइँदै, अशक्त र ज्येष्ठ नागरिकलाई सकस

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १८:२३, काठमाडौँ

पशुपति क्षेत्रस्थित गौरीघाट पुलबाट गुह्येश्वरी जाने सवारीसाधनलाई रोक्न  सिँढी बनाउन थालिएको छ। 

काठमाडौँ महानगरपालिकाले पुल निर्माण सकिएपछि सिँढी बनाउन लागेको हो। सिँढी निर्माणले अशक्त तथा ज्येष्ठ नागरिकलाई गुह्येश्वरी मन्दिर दर्शन गर्न अप्ठ्यारो हुने भक्तजनको भनाइ छ। 

महानगरका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले निर्माणका क्रममा सवारी सञ्चालन हुँदा समस्या भएपछि सिँढी बनाइएको बताए। काठमाडौँ–८ का वडाध्यक्ष समेत रहेका संगतले भने, ‘यो अस्थायी संरचना हो। स्थायी सिँढी बनाएर सवारी साधन रोक्नुपरेमा सरोकारवालासँग छलफल गरी अघि बढ्नेछौँ।’

करिब एक वर्षअघि पुल जीर्ण भएर बनाउन सुरु गरिएको थियो। तर, आधुनिक निर्माण सामग्री प्रयोग गरिएको भन्दै विरोध भएपछि निर्माण कार्य रोकिएको थियो। 

विश्व सम्पदा क्षेत्रमा भौतिक संरचना तथा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने मापदण्डविपरीत पुल पुनःनिर्माण सुरु गरेपछि विभागले पुरानै स्वरुपमा बनाउनुपर्ने भन्दै रोकेको थियो। महानगर पुरानै स्वरुपमा पुल बनाउन सहमत भएपछि पुनः काम सुरु भएको हो। 

पुरातत्व विभागले दिएको निर्देशनअनुसार प्राचीन निर्माण सामग्री प्रयोग गरेर पुल बनाउन महानगरपालिका सहमत भएपछि गत असोजमा पुलको बाहिरी स्वरुप निर्माण गरिएको हो। पुललाई स्थायी बनाउन अझै काम बाँकी भएकाले सिँढी बनाएर सवारी आवागमन रोकिएको वडा कार्यालयले जनाएको छ।

यसैबीच, पुरानो पुल भत्काउँदा निकालिएका पुराना इँट्टाको संरक्षण नहुँदा चोरी भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। सुरुमा श्री ५ त्रिभुवन र श्री ३ चन्द्रशम्शेर लेखेको इँट्टा भेटिए पनि पछि त्यहाँ नभेटिएको स्थानीय अर्जुन लामिछानेले बताए। ऐतिहासिक एवं पुरातात्विक महत्वका ती इँटा कहाँ गए भनेर सरोकार भएका निकायले जवाफ दिनुपर्ने उनको भनाइ छ। 

आगामी दिनमा धार्मिक तथा सांस्कृतिक आस्थाका क्षेत्र, विश्व सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा स्थानीय बासिन्दाले जोड दिएका छन्। चोरी भएका पुरातात्विक सामग्रीको खोजी गरी राखिनुपर्ने स्थानीयको माग छ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad