मोरङकी १२ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेर सार्वजनिक गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकाअनुसार मोरङको लेटाङ नरपालिका-२ फडानीका ५८ वर्षीय पदबहादुर अधिकारीलाई आइतबार नियन्त्रणमा लिइएको हो।
लेटाङ नगरपालिका-२ फडानी बस्ने नवीन गौतमकी छोरी अंशुको गएको असोज २१ गते अपहरणपछि बलात्कार गरेर हत्या भएको प्रहरीले जनाएको छ।
खोजतलासका क्रममा यही कात्तिक ७ गते लेटाङ नगरपालिका-२ बेलवारी चिसाङ सामुदायिक वनमा क्षतविक्षत अवस्थामा उनको शव फेला परेको थियो।
बरामद भएका कपडा, हाफ पाइन्ट, चप्पल र घडीका आधारमा उनको पहिचान भएको प्रहरीले जनाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, कोसी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले लामो अनुसन्धानपछि अधिकारीलाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाएको छ।
अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्।
उनी गएको असोज २१ गते घरबाट एकाएक हराएकी थिइन्। उनी हराएको भोलिपल्ट अभिभावकले खोजीका लागि इप्रका लेटाङमा हुलियासहित निवेदन दिएका थिए।
असोज २५ गतेदेखि बालिकाका आफन्त, स्थानीय, नेपाल प्रहरी, नेपाली सेनासमेतको सहयोगमा जङ्गलमा सर्च अभियान सुरु गरिएको थियो।
खोजीकै क्रममा यही मंसिर ७ गते लेटाङ-२ बेलबारी चिसाङ साझेदारी वनमा सडी गलेको अवस्थामा एक शव फेला परेको थियो।
त्यतिबेला शवको कम्मर भन्दा तल र टाउको मात्र फेला परेको थियो। जंगलमा घाँस काट्न गएका लोचन शाहीसमेत स्थानिय ३ जनाले सुरुमा सो शव देखेका थिए।
घटनाको जानकारीपछि इप्रका लेटाङबाट सोकोसहितको टोली र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक कबित कटवालको कमाण्डमा प्रहरी टोली पुगेको थियो।
अंशुका बुवा नविनले घटनास्थलमा फेला परेको चप्पल, कालो हाफ प्यान्ट र कालो घडीको आधारमा उक्त शव आफ्नी छोरी अंशुको भएको भनेर सनाखत गरेका थिए।
अंशुको शव बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरीमा पोष्टमार्टम गरिएको थियो। पछि नेपाल प्रहरी केन्द्रिय विधि बिज्ञान प्रयोगशालामा पनि उनको शवको परीक्षण गरिएको र त्यसको रिपोर्ट आउन बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बालिकाको मृत्यु तीन साताअघि नै भएको रिपोर्ट दिएको छ।
प्रहरी अनुसन्धानका अनुसार पक्राउ परेका अधिकारीले असोज २१ गते दिउँसोको समयमा अंशु गौतमलाई उनकी साथी युरिका महतरासँग स्कूल नजिकै खेलिरहेको अवस्थामा फेला पारेका थिए।
त्यसक्रममा युरिकाले पदम अधिकारीसँग पैसा मागेकी थिइन्। अधिकारीले ५ रुपैयाँ दिएर युरिकालाई दिदीलाई खोजेर ल्याउ भनेर पठाएका थिए।
त्यसपछि अधिकारीले घाँस काट्न सहयोगका लागि आफूसँग हिँड्न अंशुलाई भनेका थिए। अधिकारीले भनेपछि अंशु पैदलै जंगल गएकी थिइन् भने अधिकारी साइकल चढेर जंगल पुगेका थिए।
त्यसपछि अधिकारीले अंशुलाई साइकलमा राखेर झण्डै ४ किलोमिटर भित्र जंगलमा लगेका थिए।
त्यहाँ पुगेपछि उनले अंशुलाई बलात्कार गरेका प्रहरीले जनाएको छ। बलात्कारपछि घाँटीमा थिचेर उनले बालिकाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। हत्यापछि उनले हँसियाले बालिकाको घाँटी समेत काटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
अधिकारीलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१२ ज्यान सम्बन्धी कसुर अन्तर्गत (दफा १७७) र परिच्छेद-१८ करणी सम्बन्धी कसुर अन्तर्गत जबरजस्ती करणी गर्न नहुने (दफा २१९) मा कारबाही प्रक्रिाय अधि बढाइएको मोरङ प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया