समाज


सैतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्ति भए पनि सौतेनी सन्तानको हक लाग्ने सर्वोच्चको फैसला

सैतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्ति भए पनि सौतेनी सन्तानको हक लाग्ने सर्वोच्चको फैसला

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०८२ सोमबार ९:६, काठमाडौँ

सर्वोच्च अदालतले सौतेनी आमाको सम्पत्तिमा हक लाग्ने फैसला गरेको छ। 

सैतेनी आमाले जुनसुकै स्रोतबाट आर्जन गरेको सम्पत्ति भए पनि त्यसमा सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्च अदालतले गरेको हो। 

सर्वाेच्च अदालतका न्यायाधीश डा.नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले सौतेनी आमाको सम्पत्तिमा सौताका सन्तानको पनि हक लाग्ने व्याख्यासहितको फैसला गरेको हो। 

शशी पराजुली उप्रेती तथा नवराज पराजुली पुनरावेदक रहेको मुद्दामा सर्वोच्चले सम्पत्तिमा सौतेनी छोराछोरीको समान हक हुने व्याख्यासहितको फैसला भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

पराजुलीले आमाबाट बकसमा पाएको सम्पत्ति सौताका छोरालाई दिन नपर्ने जिकिर गर्दै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन्।

तर, उनको यस्तो जिकिरमा सौतेनी छोराको पनि हक लाग्ने फौसला तीनै तहका अदालतले गरेका हुन्। 

जिल्ला, उच्च र सर्वोच्च तीनै तहबाट सौतेनी छोरा राहुलको शशीले बकसबाट प्राप्त सम्पत्तिमा पनि हक लाग्ने फैसला गरेका हुन्। तीन तहका अदालतमा शशीले राहुललाई अंश दिनु नपर्ने दाबी लिएर मुद्दा दायर गरेकी थिइन्। 

नवराजले भने राहुल आफ्नो सन्तान नै नभएको जिकिर लिए पनि तिनै तहका अदालतले नाता कायम हुने ठहर गरेका छन्। २०८१ चैतमा सर्वोच्चले गरेको यस्तो फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको हो ।   

विमातृक सम्पत्ति सौतेनी छोराले नपाउने परिकल्पना कानुनलेसमेत नगरेको सर्वोच्चले गरेको फैसलाको व्याख्यामा उल्लेख गरेको छ। साथै अंशबन्डासम्बन्धी कानुनमा आमा शब्दले सौतेनी आमासमेत र छोरा शब्दले सौतेनी छोरासमेतलाई समेटेको सर्वोच्चले जनाएको छ।  

बकसपत्रमार्फत प्राप्त स्त्री अंशधनसमेत छोराछोरीका हकमा पैत्रिक सरह हुने भएकाले सौतेनी सन्तानको हक लाग्ने व्याख्या सर्वोच्चको पूर्ण इजलासले गरेको हो। सौतेनी छोराछोरीलाई बन्डा नलाग्ने व्यवस्था गर्नु अंशबन्डासम्बन्धी स्वीकार्य मान्यता र कानुनी व्यवस्थासमेतको विपरीत हुने अदालतको फैसलामा उल्लेख छ। 

सवोच्चको फैसलामा भनिएको छ, ‘आमाछोरा वा सौतेनी आमाछोराबीच फरक नगरेको अवस्थामा स्त्री अंशधनको महल अन्तर्गत हुने सम्पत्ति आफ्नो हाँगातर्फका छोराछोरीलाई मात्र बन्डा लाग्ने, सौतेनी छोराछोरीलाई बन्डा नलाग्नेभन्दा समान पुस्ताका अंशियारबीच बन्डा घटीबढी हुन गई सबै अंशियारको बराबर बन्डा गर्नुपर्ने अंशबन्डासम्बन्धी स्वीकार्य मान्यता र कानुनी व्यवस्थासमेतको विपरीत हुने देखिन्छ।’

बाबुआमाले जुनसुकै स्रोतबाट प्राप्त गरेको सम्पति छोराछोरीका लागि पैत्रिक हुने व्याख्या सर्वोच्चले गरेको हो। 

सौतेनी आमाले बकसपत्र, दाइजो जुनसुकै माध्यमबाट प्राप्त गरेको सम्पत्ति आफ्नो छोराछोरीलाई पैत्रिक हुने तर सौतेनीतर्फबाट जन्मेका छोराछोरीका लागि पैत्रिक नहुने भन्ने व्याख्या न्यायोचित नहुने फैसलामा भनिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad