हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी। एकाबिहानै बालुवा सार्दै गरेको अवस्थामा भेटिइन्, कल्पना भुजेल। कठ्याङ्ग्रिँदो जाडोमा पनि खलखल पसिना बगिरहेको छ, तर उनलाई यसको कुनै परवाह छैन।
भुजेल भन्छिन्, ‘हाम्रो काम उज्यालो भएदेखि अँध्यारो नभएसम्म बगरमा बालुवा खोज्ने हो। एकदिन अल्छी गर्यो भने अर्को दिन चुल्हो बाल्न गाह्रो हुन्छ। बिरामी परियो भने औषधि खाने पैसा हुँदैन। त्यसैले चिसो, गर्मी केहीको परवाह हुँदैन।’
‘कहिले बगरमा छरिएको बालुवा थुपार्न त कहिले नदीमा डुबेर बालुवा निकाल्दानिकाल्दै दिन बित्छ। यसरी जम्मा गरेको बालुवा चाल्ने, गाडीमा हाल्ने र त्यसबाट आर्जेको आम्दानीले बिहान बेलुकाको छाक टार्नुपर्ने बाध्यता छ। यो नै परिवारको जीवन धान्ने आधार हो’, उनले सुनाइन्।
कल्पना र विनोद मात्रै होइन, नुवाकोट, धादिङ, चितवन, नवलपरासीलगायत जिल्लामा नदी किनारमै बसेर जीवन गुजार्ने सयौँ परिवार छन्। असिनपसिन पार्ने गर्मी होस् वा कठ्याङ्ग्रिँदो जाडो, उहाँहरूको दैनिकी नदी किनारमै बित्छ। त्यसबाट हुने आम्दानी भने न्यून छ । दिनभरि खट्दा कहिले रु ५०० त कहिले रु ८०० आम्दानी हुने गरेको धेरैले बताउने गरेका छन्, त्यो पनि सधैँ हुँदैन। स्थानीय तह र प्रहरी प्रशासनले कडाइ गरेका बेला कमाइ शून्य हुने गरेको भुजेलले बताइन्।
मजदुरका अनुसार हिउँदको बेला (हिजोआज) एक ‘टिप’ बालुवा जम्मा गर्न दुई जनालाई तीन दिनसम्म लाग्छ भने गाडीमा ‘लोड’ गर्न आधा दिन लाग्छ। त्यसबापत ठेकेदारले रु चार हजारदेखि बढीमा रु चार हजार ५०० दिन्छन्।
सात वर्षदेखि यस्तै काम गरेर गुजारा चलाउँदै आएका नुवाकोट चाउथेका रामबहादुर सुनारले भनिन्, ‘बूढाबूढीले बिहानदेखि बेलुकासम्म काम गरेर दिनको रु एक हजार कमाउन पनि मुस्किल पर्छ। प्रहरीले कडाइ गरेका बेला त त्यति पनि हुँदैन । लुकामारी गर्दै दिन बित्छ।’
धादिङको सिद्धलेक गाउँपालिका–७ का बाबुराम आचार्यले पनि २५ वर्षदेखि बालुवामा पसिना चुहाएर परिवारका सामान्य आवश्यकता पूरा गर्दै आएका छन्। बालुवा चालेरै चार छोराछोरीको शिक्षादिक्षा, परिवारको गुजारा चलाउनु आफ्नो बाध्यता भएको उनले सुनाए। ‘काम गरेको दिन चुलो बल्छ, नगरेको दिन भोकै परिन्छ। त्यसैबाट आएको केही रकमबाट गास काटेर छोराछोरीको शिक्षादिक्षाको व्यवस्था गछौँ’, आचार्यले भने।
विशेषगरी नुवाकोटको बेलकोटगढी, धादिङको गल्छी र गजुरीमा पर्ने नदी किनार र बगरमा २०५० सालदेखि मजदुरले बालुवा निकाल्दै आएका छन्। धादिङतर्फ पर्ने त्रिशूली नदीको बेल्खु, घाटबेंसी, बाङ्गे, जरेखेत, महेशखोला, पोखरेखोला, मलेखुलगायत बगरमा मजदुरको सङ्ख्या बढी देखिन्छ।
पानीमा डुबेर थुन्सेमा निकालेको र बगरमा छरपस्ट बालुवालाई अञ्जुलीले सोहोरेर जम्मा गरेको बालुवामा स्थानीय सरकारले कर छुट गरिदिए आफूहरूलाई ठूलो राहत हुने मजदुरको भनाइ छ।
मजदुर भवानी अर्याल भन्छिन्, ‘सरकारले थुन्सेमा बोकेर गाडीमा लोड गरेको बालुवाको कर नलिइदिए गाडीवालाले हामीलाई अलिकति भए पनि पैसा बढी दिन्थेँ। कर पनि तिर्नुपर्छ भनेर बालुवा उठाउने ठेकेदारले हामीजस्ता मजदुरलाई पैसा कम दिन्छन्। घर छेउछाउतिरका बगरमा बालुवा निकाल्दा त झन् घरवालालाई पनि बाटोकर तिर्नुपर्छ। कि बाटोकर तिर, नत्र बालुवा ननिकाल भनेर समस्यामा पार्छन्।’
जिल्ला प्रशासन कार्यालयले भने मजदुरको सुरक्षा, वातावरणीय जोखिमलाई मध्यनजर गरी त्रिशूली नदी र आसपासका अन्य खोलाबाट बालुवालगायत नदीजन्य सामग्री उत्खननमा रोक लगाएको छ। स्थानीय पालिकाले भने हरेक वर्ष बालुवा निकाल्न ठेक्का लगाउँदै आएका छन्। मजदुरका हितमा कुनै निकायले काम नगरेको मजदुरहरूको गुनासो छ।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बालुवा निकाल्ने मजदुर सधैँ एकैठाउँमा नबस्ने र फेरबदल भइरहने भएकाले उनीहरूका विषयमा निर्णय गर्न समस्या हुने बताए। ‘ठेक्का लागेका ठाउँमा होस् वा मजदुरले थुन्सेमा निकालेको बालुवा होस्, टिपको हिसाबले कर त उठाउँछौँ। मजदुर हितका लागि चाहेर पनि केही गर्ने मेसो मिलेको छैन। मजदुरबाट औपचारिक रूपमा केही माग भएर आएमा छलफल गर्न सकिन्छ’, उनले भने।
त्रिशूली नदीले छुने गजुरी, थाक्रे, गल्छी, बेनिघाट गाउँपालिकाले बर्सेनि रु पाँचदेखि रु १० करोडसम्मको ठेक्का लगाउने गरेको छ। रासस
Shares

प्रतिक्रिया