समाज


यी हुन् भाइरससँग लड्ने शक्ति बलियो बनाउने ७ उपाय

यी हुन् भाइरससँग लड्ने शक्ति बलियो बनाउने ७ उपाय

नेपालखबर
बैशाख २०, २०७७ शनिबार १३:४७,

अहिले नेपालसहित विश्वभर कोरोना भाइरसको आतंक छ। यसविरुद्ध विश्वका वैज्ञानिक औषधि तथा खोप विकासमा व्यस्त छन्। कतिपय मानिसमा परीक्षण पनि भइरहेका छन्।

तर अहिलेसम्म यसको अचूक औषधि वा खोप पत्ता लागिसकेको छैन। भर्खरै अमेरिकाले इबोला संक्रमणका बेला यसअघि नै बनाइएको औषधिलाई बिरामीमा प्रयोगका लागि शुक्रबार मात्रै स्वीकृति दिएको छ। तर पनि यो औषधिले कोरोना निर्मूल नै पार्छ भन्ने कुनै ग्यारेन्टी नभएको स्वयं अमेरिकी विशेषज्ञले बताइरहेका छन्।

यसैकारण अहिलेका लागि कोरोनाबाट बच्ने उपाय अपनाउनुको विकल्प छैन। यसैकारण विश्वका देश लकडाउनमा छन् भने मानिस घरभित्रै बसिरहेका छन्।

तर रोगबाट बच्न यस्ता उपाय मात्र पर्याप्त हुँदैनन्। वास्तवमा सबैभन्दा महत्वपूर्ण कुरा हो- हाम्रो शरीरभित्रै रोग प्रतिरोधात्मक शक्ति अर्थात् भाइरससँग लड्न सक्ने क्षमता। विज्ञका अनुसार हामीले यस्तो क्षमता बढाउन सक्यौं भने कोरोना भाइरस मात्रै होइन, हामीलाई आक्रमण गर्ने अन्य कुनै पनि भाइरस, ब्याक्टेरिया वा रोगबाट बच्न सक्छौं।

यसै सन्दर्भमा जनस्वास्थ्य तथा पोषणविद्ले दिएका ७ सुझाव यस्ता छन्:

१. पोषिलाे खाना
यसबीच कोरोनाबाट बच्न लसुन र कागती खानुपर्छ भन्ने चर्चा पनि चलेका छन्। यी चिज उचित मात्रामा नियमित खाँदा शरीरलाई फाइदा पुग्ने भए पनि अहिलेसम्म तिनले भाइरस मार्ने वैज्ञानिक प्रमाण नभेटिएको विज्ञ बताउँछन्।

पोषणविद् सुप्रिया भट्टराईका अनुसार हाम्रो शरीरमा रहेका हितकारी ब्याक्टेरिया जोगाउन तथा प्रतिरक्षा प्रणाली बलियो बनाउन भिटामिनयुक्त फलफूल र रेसादार सागसब्जी खानु उत्तम हुन्छ।

२. नियमित शारीरिक अभ्यास
हानिकारक जीवाणु हाम्रो शरीरभित्र छिरे भने हाम्रो रगतमा हुने सेता रक्तकोषले तिनको प्रतिकार गर्छन्। सेता रक्तकोष कम चलायमान हुने हुनाले तिनलाई चलायमान बनाउन शारीरिक व्यायाम अत्यावश्यक हुने विज्ञ बताउँछन्।

जनस्वास्थ्यविज्ञ डा. विश्वनाथ कोइरालाका अनुसार सेता रक्तकोष शरीरका सैनिकजस्तै हुन् र तिनलाई नियमित रूपमा सक्रिय बनाउँदा प्रतिरक्षा प्रणाली पनि बलियो बन्दै जान्छ।

३. आराम र निद्रा
आहार र शारीरिक व्यायाम मात्र प्रतिरक्षा प्रणाली बलियो बनाउन पर्याप्त हुँदैनन्। त्यसका लागि आराम र निद्राको पनि उत्तिकै आवश्यकता पर्छ। शरीर जैविक यन्त्र भएकाले यसलाई आराम पनि चाहिन्छ। कम तनाव र पर्याप्त निद्रा भए प्रतिरक्षा प्रणाली पनि चुस्त हुने विज्ञको भनाइ छ।

योगाभ्यास र ध्यानले पनि प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग गर्ने विज्ञ बताउँछन्। अमेरिकाको प्रतिष्ठित योग जर्नलका अनुसार योगले निरासा पैदा गर्ने हार्मोन कम गर्न र शरीरमा पैदा हुने हानिकारक पदार्थ बाहिर निकाल्न निकै मद्दत गर्छ।

४. धूमपान र मद्यपान नगर्ने
विज्ञका अनुसार जाँडरक्सी र चुरोट/बिँडी खाने मानिसको तुलनामा नखाने मानिसको प्रतिरक्षा प्रणाली बलियो हुन्छ।

जनस्वास्थ्यविज्ञ डा. अर्जुन कार्कीको सुझाव छ, ‘मदिरा वा चुरोट खाने बानी छ भने तत्काल छाड्नुहोस् वा कम गर्दै जानुहोस्। त्यसो गर्नुभयो भने आफ्नो शरीरको प्रतिरक्षा प्रणाली बलियो बन्दै गएको आफैं अनुभव गर्न सकिन्छ।’

धूमपान र मद्यपान गर्ने त्यसमा पनि प्रौढ व्यक्तिमा धेरै संक्रमण हुने सम्भावना धेरै हुने अध्ययनले देखाएका छन्।

५. सिर्जनात्मक बन्ने
विज्ञका अनुसार धेरै मानिस फुर्सद नभएकाले सिर्जनात्मक बन्न सकेका छैनन्। तर रचनात्मक वा सिर्जनात्मक बन्न सके रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढंगले विकास हुने बताउँछन्, डा. कोइराला।

उनका अनुसार सिर्जनात्मक/रचनात्मक क्रियाकलापमा सहभागी हुँदा प्राप्त हुने खुसीले निराशा र एक्लोपना गर्छ। यसैकारण बगैंचाको काम गर्ने, चित्र कोर्ने वा अन्य कलात्मक सिर्जना गर्ने, घर सजाउने वा कथा÷कविता लेख्नेजस्ता काम गर्नुपर्छ।

६. उच्च मनोबल
उच्च मनोबलका कारण धेरै मानिसले आफ्नो रोगसँग लड्न सक्ने क्षमतामा अपत्यारिलो ढंगले विकास गरेका प्रशस्त उदाहरण छन्। त्यसका एउटा उदाहरण त हाम्रै प्रधानमन्त्री केपी शर्मा ओली हुन्।

कोरोना भाइरसले वृद्धवृद्धाको बढी ज्यान लिइरहेको छ। तर केही विश्वमा सय वर्ष कटेका मानिससमेत निको भएका उदाहरण पनि छन्। त्यो उच्च मनोबलकै परिणाम भएको चिकित्सक बताउँछन्।

७. खोप
हाम्रो शरीरभित्र हितकारी सूक्ष्म जीव हुन्छन्, जसले बाहिरबाट आक्रमण गर्ने हानिकारक जीवाणुसँग लडेर हामीलाई जोगाउँछन्। तर श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, बाथ र मधुमेहजस्ता रोग लागेका व्यक्तिको शरीरमा यस्ता हितकारी जीवाणु कम हुन्छन्। एन्टिबायोटिक खाएका मानिसमा त यस्ता जीव पनि मर्छन्।

तसर्थ त्यस्ता मानिसले प्रतिरक्षा प्रणाली बलियो बनाउन विशेष ध्यान दिनुपर्छ। साथै खोप नियमित लिएर पनि रोगसँग लड्ने क्षमता बलियो बनाउन सकिने डा. कार्की बताउँछन्। तर त्यसका लागि खोप बनेको हुनुपर्छ।

जस्तैः नेपालमा क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, हेपाटाइटिस-बी, धनुष्टंकार, निमोनिया, र दादुरा-रुबेला रोगविरुद्धको खोप बालबालिकालाई लगाउने गरिन्छ। बीबीसीकाे सामग्रीमा आधारित

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad