समाज


अझै तीन दिन मौसम नखुल्ने, आज पनि हावाहुरी, असिना-पानीको सम्भावना

अझै तीन दिन मौसम नखुल्ने, आज पनि हावाहुरी, असिना-पानीको सम्भावना

नेपालखबर
बैशाख २१, २०७७ आइतबार १:२२,

हावाहुरी, चट्याङसहितको वर्षा अझै केही दिन जारी रहने मौसमविद्ले अनुमान गरेका छन्।

देशमा अहिले धेरै खालका मौसमी प्रणाली रहेकाले कम्तीमा अझै तीन दिन मौसम सफा हुने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका हुन्।

आज (आइतबार) पनि देशका सबै भेगमा तर केही स्थानमा हावाहुरी, चट्याङसहित असिना पानी पर्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

‘यो एरिया मात्रै मौसम बदली छ भनेर भन्न सकिने अवस्था छैन, देशका जुनसुकै स्थानमा वर्षा हुन सक्छ,’ मौसमविद् अर्यालले आइतबार बिहान नेपालखबरसँग भने, ‘त्यही भएर देशकै केही स्थानमा हावाहुरी, मेघगर्जनसहितको वर्षाको सम्भावना छ भनिएको हो।’

उनका अनुसार अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु छ भने पूर्वी क्षेत्रमा न्यून चापीय क्षेत्रको प्रभाव छ। यसैगरी बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको छ भने स्थानीय वायुको प्रभाव पनि उत्तिकै छ।

‘यसैकारण देशका जुनसुकै ठाउँमा हावाहुरी, वर्षाको सम्भावना छ,’ मौसमविद् अर्यालले भने, ‘देशका केही स्थानमा तर जुनसुकै ठाउँमा यसको सम्भावना छ।’

कतिपय ठाउँमा अहिले पनि वर्षा भइरहेको उल्लेख गर्दै उनले विशेषगरी अपराह्नपछि हावाहुरी, मेघगर्जन, चट्याङ र असिना पानीको सम्भावना देखिएको बताए। आज काठमाडौं उपत्यकामा पनि यस्तै वर्षाको सम्भावना रहेको उनले जानकारी दिए।

अझै कम्तीमा तीन दिन मौसम सफा हुने सम्भावना नरहेको पनि उनले बताए। ‘दुई-तीन दिनयता मौसम खुल्ने संकेत देखिएको छैन,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनमा पनि मंगलबारसम्मै देशभर बदली तथा हावाहुरी, चट्याङ र असिना पानीको सम्भावना रहेको उल्लेख छ।

महाशाखाले बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ: 

देशका केही स्थानमा  मेघगर्जन/चट्याङ/असिनासहित वर्षा र पश्चिमी र पूर्वी  तराईमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad