कैलालीकाे धनगढी उपमहानगरपालिका–१४ को पञ्चोदय माध्यमिक विद्यालय परिसरमा जेसिबी चालक मृत फेला परेका छन्।
विद्यालय परिसरमा माछापोखरी निर्माणको काममा प्रयोग भइरहेको जेसिबीका चालक दाङको भालुवाङ स्थायी ठेगाना भएका ३१ वर्षीय तिलक बुढामगर सुतेकै ठाउँमा मृत फेला परेका प्रहरीले जनाएको छ।
माछापोखरी निर्माणकोे कामको ठेक्का पाएको देवसिंह सेवा निर्माण कम्पनीको जेसिबीका चालक बुढामगर शुक्रबार राति खाना खाएर सोही विद्यालयको कोठामा सुतेका थिए। उनी बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए।
जेसिबीका सहचालक हरिदत्त भट्टले प्रहरीलाई खबर गरेपछि गएको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको छ। सहचालक भट्ट पनि सोही विद्यालयमा बस्दै आएका थिए।
यसैबीच कैलालीको भजनी नगरपालिकास्थित काँन्द्रा नदीमा नुहाउने क्रममा एक किशोरको मृत्यु भएको छ।
स्थानीय १६ वर्षीय केशव पोखरेलको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले मृतकको शव घटनास्थल नजिकै फेला पारिएको जनाएको छ।

प्रतिक्रिया