विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर उत्कृष्ट काम गर्ने विश्वका ५ महिलामध्ये नेपालकी एक डाक्टर पनि परेकी छन्। उनी हुन्- काठमाडौंको टेकुस्थित देशको केन्द्रीय प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख अर्थात् निर्देशक डा. रुना झा।
देशभरका २ सय ७७ सरकारी प्रयोगशालासँग जोडिएको टेकुको प्रयोगशालामा पहिले कोरोना भाइरसको परीक्षण हुन्थेन। नेपालका पहिलो कोरोना संक्रमितको पहिलो नमुना (स्वाब) विदेश (हङकङ) लगेर परीक्षण गरिएको थियो। तर जब बिस्तारै कोरोना संक्रमण आशंकाका बिरामी बढ्न थाले तब नेपालमा पहिलोपटक यही प्रयोगशालामा उपकरण व्यवस्था गरेर कोरोना संक्रमणको परीक्षण सुरु गरिएको हो।
निकै दिनसम्म देशभरका शंकास्पद बिरामीका स्वाब यही प्रयोगशालामा परीक्षण (पीसीआर) गरियो। तर अहिले देशका सातै प्रदेशमा पीसीआर परीक्षण हुन्छ। तैपनि अझै अन्तिम निर्क्याेल गर्न यही प्रयोगशालामा बिरामीका नमुना पुनः परीक्षण गर्ने गरिएको छ। जसको अग्रपंक्तिमा रहेर काम गरिरहेकी छन्- डा. रुना झा।
यसै क्रममा संयुक्त राष्ट्रसंघको यूएन वुमेन (संयुक्त राष्ट्र संघअन्तर्गत यूएन वुमेन- लैंगिक समानता र विकासका लागि क्रियाशील संस्था हो। जसले यस क्षेत्रमा काम गर्न विश्वभर साझेदारी गर्छ।) ले विश्वमा कोभिड-१९ रोकथामका लागि उत्कृष्ट काम गर्ने ५ महिलाको सूची सार्वजनिक गरेकाे छ। जसमा डा. झाको नाम पनि समोवेश भएको हो। प्रस्तुत छ उनै डा. झाको अनुभवः
हाम्रो काम त्यतिबेला सुरु भयो- जब चीनको वुहानबाट १ सय ७५ नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश ल्याइयो। जहाजमार्फत फेब्रुअरी १५ तारिखका दिन ल्याइएका उनीहरूलाई भक्तपुरका खरिपाटीस्थित क्वारेन्टिनमा राखियो। मेरै नेतृत्वको प्राविधिक टोली हो, जो पहिलोपटक त्यो क्वारेन्टिन कक्षमा प्रवेश गर्याे र बिनाहिचकिचावट उनीहरूको नुमना (स्वाब) लियाे।
त्यो टोलीमा २१ वर्ष उमेरकादेखि घरमा साना बच्चा भएका प्राविधिकसमेत थियौं, तर हामी सबै त्यो काम गर्न तयार भयौं। हामीले रातभरि काम गर्यौं। र, १ सय ७५ जनाकै नमुना संकलन गरेर परीक्षण गरी नतिजा निकाल्यौं।
त्यस बेलादेखि प्रयोगशालाका नियमित सेवा बन्द गरेर सम्पूर्ण काम कोभिड-१९ परीक्षणमा केन्द्रित गरेका छौं। यो हाम्रा लागि एकदम चुनौतीपूर्ण समय हो। अन्य धेरै देशमा त्यही क्षेत्रमा जीवन व्यतीत गरेका अनुभवी विशेषज्ञ र सुविधा-सम्पन्न प्रयोगशाला छन्। तर हामीसँग सीमित मात्र जनशक्ति र स्रोत/साधन छन्। त्यही भएर कडा मिहिनेत गरिरहेका छौं।
अहिले दिनमा ६० देखि ७० वटासम्म नमुना आउँछन्, त्यो पनि फरक-फरक समयमा आउँछ। कति बेला आउँछ कुनै टुंगो हुँदैन। त्यही भएर अबेरसम्म काम गर्नुपर्छ। निर्देशकका नाताले परीक्षणका साथै व्यवस्थापनका अन्य काम पनि गर्नुपर्ने हुन्छ। त्यसैले ढिलासम्म काम गर्नु मेरो नियमित दिनचर्या बनिसकेको छ।
प्राविधिक कामका अतिरिक्त मैले प्राविधिक साथीहरूलाई खाना, यातायातजस्ता कुराको व्यवस्था गर्नुपर्छ। काम गर्दागर्दा कहिलेकाहीं उनीहरू निराश पनि हुन सक्छन्, मैले प्रेरित गरिराख्नुपर्छ।
मेरो व्यक्तिगत जीवनमा पनि परिवर्तन भएको छ। मैले आफ्नी छोरीलाई श्रीमाननसँगै घर पठाएको छु- जनकपुर। जुन मेरो कार्यालय (काठमाडौं) बाट निकै टाढा पर्छ। अहिले म एक्लै अपार्टमेन्टमा बसिरहेकी छु। मेरा अभिभावक पनि काठमाडौंमै छन्, केवल २ किलोमिटर पर। पहिले हप्ताकै तीन-चारचोटि भेट्थें। तर अहिले ३ हप्ता भइसक्यो, उहाँहरूसँग भेट्न नपाएको।
जनकपुर घरबाट छोरीलाई फोनमा मलाई सोधिरहन्छिन्, कहिले घर आउने भनेर। छोरी, श्रीमानको धेरै याद आउँछ। तर पनि म उनीहरूको जीवनलाई जोखिममा पार्न चाहन्नँ, अहिलेको यो कोरोना महामारीको समयमा भौतिक दूरी कायम राखेर उनीहरूलाई सुरक्षित राख्न चाहन्छु।
मेरी आमा मलाई बोलाउँदै भन्नुहुन्छ- छोरी घर आऊ, हामी वृद्ध भइसकेका छौं, हामी तिमीलाई आँखावरिपरि देख्न चाहन्छौं।’
मलाई पनि मेरी छोरीलाई गम्लयाङ अँगालो हाल्न मन छ। मेरा बुबाआमासँगै रहेर उहाँहरूको हेरचाह गर्न मन छ। तर यतिबेला म जुन काममा खटिरहेको छु, त्यस हिसाबले उहाँहरूको जीवनको सुरक्षाका लागि मैले त्याग गर्न आवश्यक छ।
(यूएन वुमेनमा प्रकाशित डा. झाको अनुभव भावानुवाद गरी प्रकाशन गरिएको हो।)
Shares

प्रतिक्रिया