नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी रविलक्ष्मी चित्रकारलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन्।
लविलक्ष्मी पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपाका नेता झलनाथ खनालकी धर्मपत्नी हुन्।
आज बिहान काठमाडौँको डल्लुस्थित खनाल निवासमा पुगेर प्रचण्ड र नेपालले चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभको कामना गरेका प्रचण्डको सचिवालयले जनाएको छ।
चित्रकारको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र थप सुधारका लागि उपचारकै क्रममा रहेको जानकारी नेता खनालले दिएका छन्।
गएको भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घरमै आगजनी गरेर जलाइएकी चित्रकार भारतमा लामो सयम उपचार गराएर दुई दिनअघि मात्रै स्वदेश फर्किएकी हुन्।
चित्रकारको करिब तीन महिनासम्म भारतको एपोलो अस्पतालमा उपचार गरिएको थियो। घरसँगै जलेर गम्भीर घाइते भएकी उनको देब्रेहात काटिएको छ।
कीर्तिपुरको बर्न अस्पतालको आईसीयूमा लामो सयम राखेर उपचार गरेपछि उनको स्वास्थ्यमा केही सुधार भएको थियो। तर, उपचारकै क्रममा फेरि निमोनियाको संक्रमण फैलिन थालेपछि उनलाई भारत लगिएको थियो।
७० वर्षकी चित्रकारको शरीरको १७ प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्।

Shares

प्रतिक्रिया