समाज


सिन्धुलीको धुरा बजार क्षेत्रमा कर्फ्यु

सिन्धुलीको धुरा बजार क्षेत्रमा कर्फ्यु

नेपालखबर
पुस १०, २०८२ बिहिबार २०:३३, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। 

कमलामाई नगरपालिका–४ भित्रको पूर्वमा– ग्वाङ खोला, पश्चिममा– मदन भण्डारी राजमार्ग, उत्तरमा–कुमल फाँट र दक्षिणमा– धुराबजार चोक भित्र अहिले साँझ ८ः३० देखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो।

पुस ६ गते कमलामाई नगरपालिका–४ धुरा बजारमा भएको घटनालाई लिएर स्थानियबासीबाट ढुङ्गा मुढा प्रहार तथा हुलदङ्गा लगायतका अवाञ्छित गतिविधिका कारण जिल्लाको शान्ति भङ्ग भई सुरक्षा व्यवस्थामा खलल पुग्ने अवस्था देखिएकोले कर्फ्यू आदेश गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ।

कर्फ्यूको अवधिमा सर्वसाधारण तथा अत्यावश्यक बाहेकको सवारीसाधनको आवाजावत गर्न, कुनैपनि किसिमको भेला जुलुश र भेलाजन्य कार्यहरू गर्न तथा पाँच जनाभन्दा बढी मानिस भेला हुन निषेध गरिएको छ।

पुस ६ गते सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बोम्जनको आगलागीमा परेर मृत्यु भएको थियो। उनको परिवारकै सदस्य मिलेर हत्या गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

घरभित्रै शरीरमा आगो लागेर सुशीलाको मृत्यु भएको घटना शंकास्पद देखिएपछि प्रहरीले उनकी सासु मायारानी, ससुरा दुर्गामान र नन्द मीना बोम्जनलाई नियन्त्रणमा लिएको छ। 
सो घटना हुँदा विदेशमा रहेका सुशीलाका श्रीमान् अहिले घर आएका छन्। 

कोठाभित्र आगलागी भएको सो घरमा मृतक सुशीलाका श्रीमान् सूर्य बोम्जन घरभित्र पसेपछि स्थानीय आक्रोशित भएर ढुंगा मुढा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले नेपालखबरलाई बताए। 

‘बच्चाहरूको कपडा लिन घरभित्र पसेका रहेछन्। स्थानीय आक्रोशित भएर ढुंगामुढा गरि घरभित्रै बन्धक बनाएका रहेछन्,’ उनले भने, ‘ति व्यक्तिहरूलाई रेस्क्यु गर्न कर्फ्यू आदेश जारी भएको हो।’
मृतक सुशीलाका तीन जना तिम्ल्याहा बच्चा छन्।

एसपी सुवेदीले घटनामा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि स्पष्ट पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad