तराईका अधिकांश स्थान तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो पनि तराई भूभागका केही स्थानमा हुस्सु/कुहिरो रहनेछ। साथै सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात साथै कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी राति पनि कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। अनि तराई भूभागका केही स्थानमा हुस्सु रहने मौसम महाशाखाले जनाएको छ।

यसैबीच बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन कष्टरक भएको छ।
चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी पीडित भइरहेका छन्।
स्थानीय घरबाहिर निस्कन सकेका छैनन्। बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन्।
साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन्।
कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको चालक नेपालगन्ज १६ का रामप्रसाद थारुले बताए।
चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी संकेत रिसालले बताए।
हिजोआज अस्पतालमा १०० भन्दा बढी निमोनिया र रुघाखोकीका बिरामी आउने गरेको उनले राससलाई जानकारी दिएका छन्।
Shares

प्रतिक्रिया