समाज


विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १९:५७, गुल्मी

विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना गरिएको छ। तम्घासस्थित महेन्द्र नमूना माध्यमिक विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत आज आयोजित ‘फुड फेस्टिभल’मा कक्षा ३ देखि १२ सम्मका विद्यार्थीको  सहभागिता थियो।

विद्यार्थीले विभिन्न खानाका परिकार बनाएर बिक्री गरेका छन्। कक्षा ११ का रोशन पाण्डे नेतृत्वको समूहले रसबरीलगायतका परिकार तयार पारेको थियो भने कक्षा ९ का हिमाल पाण्डेले मःम र पकौडा बिक्री गरेका थिए। कक्षा ५ का सफल गौतमको समूहले चाउमिन फ्राइ मःम र पकौडा बनाउँदै आम्दानीसँगै सीप सिकेको बताए।

त्यसैगरी,  कक्षा ७ का छात्र अञ्जन पाण्डे भान्सामै कफी तयार गरेर प्रतिकप ३५ रुपैयाँमा बिक्री गरेकी थिइन्। विद्यालयका सबै विद्यार्थीले फुडफेस्टिभलमा कुनै न कुनै परिकार बनाएर कार्यक्रममा सहभागिता जनाएका थिए। विद्यार्थी बिहानैदेखि दिनभर खाना बनाउन, स्टलबाट सामग्री बिक्री गर्न र ग्राहक व्यवस्थापनमा व्यस्त रहेका देखिन्थे।
 
कार्यक्रमका संयोजक गिरीप्रसाद खनालका अनुसार विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक सीप सिकाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ। ४४ वटा स्टल रहेको फेस्टिभलमा सेलरोटी, खीर, अचार, गुलाबजामुन, पानीपुरी, चटपटे, आलुचप, मःम, पकौडा, फलफूल र ब्रेड रोललगायत दर्जजौँ खानाका परिकार राखिएको थियो।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले सो कार्यक्रमले विद्यार्थीहरूभित्र अन्तर्निहित प्रतिभा पहिचान गर्न सहयोग पुगेको बताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पन्थीले यसले विद्यार्थीको चौतर्फी विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले विद्यालयमा गरिने यस्ता प्रकारका कार्यक्रम विद्यार्थीको सिकाइका लागि निकै प्रभावकारी र व्यावहारिक हुने भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी थिइन्। ‘फुड फेस्टिबल’ कार्यक्रममा चार सयभन्दा बढी विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता थियो। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad