गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्नाका लागि मापदण्ड तयार पारेको छ। शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित बसेर गृहका अधिकारीले निर्वाचन प्रहरी भर्ना र खटनपटनको मापदण्ड तयार गरेका हुन्।
शनिबार दुवै प्रहरीले आ–आफ्नो तर्फबाट भर्ना गर्ने जनशक्तिका बारेमा छुट्टाछुट्टै प्रस्ताव गृह मन्त्रालयमा बुझाउने र गृहसचिवले त्यसलाई स्वीकृत गरेसँगै भर्ना प्रक्रियाका लागि बाटो खुला हुनेछ।
गृह मन्त्रालयबाट स्वीकृत भएसँगै दुवै प्रहरीले भर्ना प्रक्रिया अगाडि बढाउन देशभरका जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिनेछन्। आइतबारसम्ममा गृह मन्त्रालयबाट स्वीकृत गर्ने तयारी रहेको गृहका एक अधिकारीले बताए।
‘अब लगभग सबै कुरा टुंगिएको छ। भोलि र पर्सिमा सबै तयार गरेर प्रहरीलाई पठाउँछौँ। त्यसपछि उनीहरूले आफ्नो कोटा अनुसार भर्ना प्रक्रिया अगाडि बढाउन सक्छन्,’ गृहका एक अधिकारीले भने।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले गृह मन्त्रालयबाट स्वीकृत भएर आइसकेपछि भर्नाको प्रक्रिया अगाडि बढ्ने बताए।
गृह मन्त्रालयले नेपाल प्रहरीलाई १ लाख ३४ हजार निर्वाचन प्रहरी भर्ना गर्न अनुमति दिने भएको छ। सशस्त्र प्रहरीले १५ हजार भर्ना गर्न पाउने छ। नेपाल प्रहरीले १ लाख ३७ हजार ६४४ जना निर्वाचन प्रहरी माग गरेको थियो। सशस्त्र प्रहरीले १६ हजार माग गरेको थियो। दुवै प्रहरीलाई केही कम गरेर गृह मन्त्रालयले अनुमति दिएको हो।
निर्वाचन प्रहरी भर्ना गर्न अर्थ मन्त्रालयले दुवै प्रहरीलाई स्रोत सुनिश्चितता गरिसकेको छ। अर्थबाट स्वीकृत भएको बजेट अनुसार दुवै प्रहरीले मापदण्ड बनाएका हुन्।
तयार भएको मापदण्ड अनुसार निर्वाचन प्रहरीलाई भर्ना गरिसकेपछि १० दिनको तालिम दिइनेछ। त्यसपछि एक महिना निर्वाचनका लागि खटाइने छ। नेपाल प्रहरीमा भर्ना हुने जनशक्ति नेपाल प्रहरीसँगै र सशस्त्र प्रहरीले भर्ना गर्ने जनशक्ति सशस्त्र प्रहरीसँगै खटिनेछन्।
उनीहरूको सेवासुविधा प्रहरीका जवान सरह हुनेछ। बिमासँगै पोसाक र रासन भत्ता पनि पाउनेछन्। निर्वाचन प्रहरीमा पूर्व सुरक्षाकर्मी र यसअघिका निर्वाचनमा खटिएका (म्यादी) ले विशेष प्राथमिकता पाउनेछन्। अधिकांश मापदण्ड यसअघिकै जस्ता भएको गृहका अधिकारीले बताए।
यसअघि २०७९ को निर्वाचनमा एक लाख १५ हजार म्यादी माग गरिएको थियो। तर यसपटक आयोगले मतदानस्थल बढाएकाले निर्वाचन प्रहरीको संख्या पनि थप गरिएको हो।
आगामी फागुन २१ गतेको निर्वाचनमा देशभर कुल १० हजार ९६७ मतदानस्थल रहने छन्। यसअघि भन्दा १६८ वटा मतदान स्थल थप गरिएको हो।
यीमध्ये ३ हजार ५ सय मतदान केन्द्र सुरक्षाका हिसाबले अति संवेदनशील मानिएको छ। मतदानस्थल थप भएकाले सुरक्षा संवेदनशीलता पनि बढेको भन्दै ३५ हजार निर्वाचन प्रहरी पनि थप गर्न लागिएको हो।
त्यस्तै, पहिलो पटक सशस्त्र प्रहरीले निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। स्ट्राइकिङमा १८ जनाको टोली खटाउने गरेकोमा ६ जना निर्वाचन प्रहरी टोलीमा थप हुने भएको छ। यसअघि मोबाइल गस्तीमा ७ जना सशस्त्र प्रहरी रहने गरेकोमा यसपटक १२ जनाका दरले खटाइने भएको छ। ७ जना सशस्त्र प्रहरी र ५ जना निर्वाचन प्रहरी हुनेछन्।
निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले कार्य विभागका प्रमुख अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीको कमान्डमा छुट्टै सेल गठन गरेर तयारी गरिरहेको छ।
Shares

प्रतिक्रिया