समाज


वीरगन्जमा कर्फ्यु दिउँसो १ बजेसम्मका लागि थप

वीरगन्जमा कर्फ्यु दिउँसो १ बजेसम्मका लागि थप

कर्फ्युका कारण सुनसान वीरगन्जको घण्टाघर क्षेत्र। मंगलबार बिहान हुस्सुका बीच तैनाथ सुरक्षाकर्मी। तस्बिर : हिमाल लम्साल/रासस


नेपालखबर
पुस २२, २०८२ मंगलबार ९:१८, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा लगाएको कर्फ्युको समय थप गरेको छ। 

कर्फ्युको समय मंगलबार दिउँसो १ बजेसम्मको लागि थप गरिएको स्थानीय प्रशासनले जनाएको छ। 

यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। 

तर, स्थिति सामान्य नभइसकेकाले कर्फ्युको सयम थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। 

कर्फ्युका कारण मंगलबार बिहान सुनसान देखिएको वीरगन्जको घण्टाघर क्षेत्र।  तस्बिर : हिमाल लम्साल/रासस

सीडीओ दाहालले वार्ताबाट विवादको समाधान खोज्ने प्रयास भइरहेको बताए।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगन्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकेर  कर्फ्यु आदेश जारी गरेको हो।

ताकिएको चार किल्लाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने स्थानीय प्रशासनले जनाएको छ। 

पूर्वमा बसपार्क, नगवा, ईनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटलाई केन्द्रीत गरेर कर्फ्यु लगाइएको हो। 

‘कर्फ्युको समयमा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कनु परेमा नजिककैको सुरक्षाकर्मीसँग समन्वय गरि वा एकसय नम्बरमा फोन गरि निस्कन अनुरोध छ,’ मंगलबार बिहान सीडीओ दाहालले जारी गरेको सूचनामा भनिएको छ, ‘कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटकका सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई सेवाका यात्रुहरूको आवागमनमा सुरक्षकर्मीहरूबाट सहजीकरण हुनेछ।’

दुई धार्मिक समुदायबीच उत्पन्न विवादले हिंसात्मक रुप लिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता कडा पारिएको जनाएको छ। 

धार्मिक तथा सामाजिक विवादका कारण गएका केही दिनदेखि वीरगन्ज, जनकपुरसहितका मधेसका जिल्लामा प्रदर्शन भइरहेका छन्। 

दुई दिनदेखि धार्मिक र सामाजिक विषयलाई लिएर दुई पक्षबीच वीरगञ्जमा लगातार प्रदर्शन भइरहेका छन्।

आइतबारदेखि सुरु भएको आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ भने नगर क्षेत्र अशान्त बनेको छ। सम्भावित झडप र क्षति रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्युको पालना गर्न र संयमता अपनाउन आग्रह समेत गरेको छ। 

मधेसका प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीसम्मले सार्वजनिक अपिल मार्फत् साम्प्रदायिक सद्भाव कायम राख्न र संयमता अपनाउन आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad