फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको भर्ना बिहीबार खुल्ने भएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्ने तयारी गरेको हो।
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि शुक्रबारदेखि आवेदन दिन सकिने छ।
‘बिहीबार सूचना निकाल्छौँ। शुक्रबारदेखि आवेदन लिन थाल्छौँ,’ प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले भने।
निर्वाचन प्रहरीका लागि शुक्रबारदेखि ५ दिनसम्म आवेदन दिन सकिनेछ। त्यसपछि छनोट प्रक्रिया सुरु हुनेछ। आवेदन हरेक जिल्ला प्रहरी कार्यालयबाट दिन सकिनेछ।
नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरीले १५ हजार १ सय १० जना निर्वाचन प्रहरी भर्ना गर्नेछन्। तर छनोट प्रक्रिया भने संयुक्त रुपमै गरिनेछ। छनोट भइसकेपछि मात्रै सशस्त्र प्रहरी र नेपाल प्रहरीले आ–आफ्नो कोटा अनुसारको संख्यामा लगेर तालिम दिन सुरु गर्नेछन्।
निर्वाचन प्रहरी छनोटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हरेक जिल्लामा सुरक्षा निकायहरु सम्मिलित समिति बन्नेछ। यसअघि म्यादी प्रहरी भनिँदै आएकोमा पहिलो पटक निर्वाचन प्रहरी भनेर नामाकरण गरिएको हो।
निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्नेछ। पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेस गरे निर्वाचन प्रहरीमा भर्ना हुन प्राथमिकता पाउनेछन्।
फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड छ। छनोट भएकाहरुलाई १० दिन तालिम दिइनेछ। तालिम सकिएपछि एक महिना निर्वाचनमा खटाउने सरकारको तयारी छ। उनीहरुले ४० दिनको तलब पाउनेछन्। तलब प्रहरी जवानको सरह नै हुनेछ।
यस्तै निर्वाचन प्रहरीको पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन नेपाल प्रहरी सरह नै पाउनेछन्। प्रहरीकै जस्तो जिल्ला अनुसार रासन भने फरक पर्नेछ।
निर्वाचन प्रहरी भर्ना तथा परिचालन सम्बन्धी मापदण्ड सोमबार गृह मन्त्रालयले स्वीकृत गरेको थियो। सोमबार नै गृह मन्त्रालयले मापदण्ड स्वीकृत गर्दै दुवै प्रहरीलाई पठाएको थियो।
यसअघि २०७९ को निर्वाचनमा एक लाख १५ हजार म्यादी माग गरिएको थियो। तर यसपटक आयोगले मतदानस्थल बढाएकाले निर्वाचन प्रहरीको संख्या पनि थप गरिएको हो।
फागुन २१ गतेको निर्वाचनमा देशभर कुल १० हजार ९६७ मतदानस्थल रहने छन्। यसअघि भन्दा १६८ वटा मतदान स्थल थप गरिएको हो।
यीमध्ये ३ हजार ५ सय मतदान केन्द्र सुरक्षाका हिसाबले अति संवेदनशील मानिएको छ। मतदानस्थल थप भएकाले सुरक्षा संवेदनशीलता पनि बढेको भन्दै ३५ हजार निर्वाचन प्रहरी पनि थप गर्न लागिएको हो।
त्यस्तै, पहिलो पटक सशस्त्र प्रहरीले निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। स्ट्राइकिङमा १८ जनाको टोली खटाउने गरेकोमा ६ जना निर्वाचन प्रहरी टोलीमा थप हुने भएको छ।
यसअघि मोबाइल गस्तीमा ७ जना सशस्त्र प्रहरी रहने गरेकोमा यसपटक १२ जनाका दरले खटाइने भएको छ। ७ जना सशस्त्र प्रहरी र ५ जना निर्वाचन प्रहरी हुनेछन्।
निर्वाचनमा ८० हजार नेपाली सेना पनि खटिने छ। सेनाले एक महिना पहिलेबाट खटिने गरी तयारी गरिरहेको सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताएका छन्।
त्यसअघि नै सेनाले देशका सम्पुर्ण विमानस्थल र कारागारको सुरक्षा जिम्मा लिनेछ। यी स्थानका दुवै प्रहरीलाई निर्वाचन केन्द्रित गर्न सेनाले सुरक्षा जिम्मा लिने भएको हो। यसका लागि आवश्यक समन्वयको काम र योजनाको काम सेनाले गरिरहेको छ।
निर्वाचनमा यसअघि जस्तै तेस्रो घेराको सुरक्षामा सेना हुने भएपनि अवस्था अनुसार सेनाले सुरक्षा जिम्मा लिने छ। यसअघि भन्दा यसपटकको निर्वाचनमा सुरक्षा चुनौती बढि रहेको सरकारको विश्लेषण छ।
त्यही अनुसार सेनालाई पहिल्यै परिचालन गर्ने सरकारको रणनीति थियो। सोही अनुसार ३ महिना पहिले नै सेना परिचालनको निर्णय समेत भइसकेको छ। पहिल्यै निर्णय भए पनि सेना भने एक महिना पहिलेबाट मात्रै निर्वाचनमा खटिने भएको हो।
निर्वाचनमा ३० हजार बढी सशस्त्र प्रहरी र ७० हजार नेपाल प्रहरी पनि परिचालन हुनेछन्।
Shares

प्रतिक्रिया