समाज


विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा चार वर्षभित्र अन्त्य गर्छौं: शिक्षामन्त्री पोखरेल

विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा चार वर्षभित्र अन्त्य गर्छौं: शिक्षामन्त्री पोखरेल

नेपालखबर
साउन ७, २०८३ बिहिबार १३:२३, काठमाडौँ

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने बताएका छन्। 

बिहीबार त्रिभुवन विश्वविद्यालयको ६७औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताए। ‘विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्नेछौँ,’ पोखरेलले भने। 

विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहेका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा विश्वविद्यालयको टिम निर्माण गरिने बताए। विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरुवा वा बढुवा जस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाब दिने परिपाटीको अब अन्त्य हुने जिकिर गरे। 

‘अब विश्वविद्यालयको नेतृत्व र टोली भागबण्डाको राजनीतिका आधारमा होइन, मेरिटोक्रेसीका आधारमा निर्माण हुनेछ,’ उनले भने, ‘विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुनेछैन। कसैलाई कहाँ राख्ने, सरुवा गर्ने, बढुवा गर्ने वा नियुक्ति गर्ने जस्ता निर्णय राजनीतिक दबाबका आधारमा गरिने छैनन्।’ 

मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि आफ्नो मन्त्रालय दृढ रहेको उल्लेख गर्दै कतैबाट राजनीतिक दबाब आए तुरुन्त मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे। उनले आफ्नै दल वा अन्य कुनै पनि राजनीतिक दलबाट आउने अनुचित दबाबलाई रोक्न र विश्वविद्यालयको स्वायत्तता जोगाउन सरकारले पूर्ण रूपमा सुरक्षा प्रदान गर्ने समेत विश्वास व्यक्त गरे। 

‘विश्वविद्यालयलाई मेरिटोक्रेसीका आधारमा अघि बढाउने प्रतिबद्धतासहित काम गर्नेछौँ। हाम्रो पार्टी वा अन्य कुनै पनि पार्टीबाट दबाब आएमा त्यसको प्रतिरोध गर्न हामी सधैँ तयार रहनेछौँ,’ पोखरेलले भने, ‘अब विश्वविद्यालयमा हुने सबै निर्णय मेरिटोक्रेसीका आधारमा हुनेछन्। जे हुनुपर्ने हो, त्यही हुनेछ। राजनीतिक हस्तक्षेप अब हुनेछैन।’

मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र सुधारका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad