काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधबार साँझ भएको बस दुर्घटनामा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ।
उपचारको क्रममा थप एक जनाको मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ३० जना भन्दा धेरैको काठमाडौँका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। मृत्यु हुनेमा तीन महिला र दुई पुरुष रहेका प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५ वर्षीय अर्जुन लामिछानेको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए।
यसअघि दुर्घटनामा पाँचथर स्थायी घर भई गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बू, बाँकेको कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ्की ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्पसी कोला बस्ने ५५ वर्षीया शान्ती गुप्ताको मृत्यु भएको थियो।
मंगलबार साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्लस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ फर्कँदै गरेको बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।
साँखुस्थित नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिक गएर फर्किने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
घाइतेहरूको शङ्खरापुर अस्पताल, मुलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ किएर अस्पताल र टिचिङ अस्पतालमा उपरचार भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया