समाज


जयबागेश्वरी क्षेत्रका ७५ वटा भवनलाई मौलिक परम्परागत शैलीमा रुपान्तरण गरिने

जयबागेश्वरी क्षेत्रका ७५ वटा भवनलाई मौलिक परम्परागत शैलीमा रुपान्तरण गरिने

नेपालखबर
पुस २४, २०८२ बिहिबार १३:५९, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको वडा नं. ८ जयबागेश्वरी क्षेत्रमा रहेका ७५ वटा भवनलाई मौलिक परम्परागत शैलीमा रुपान्तरण गरिने भएको छ। 

यसका लागि बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरी ९ करोड ४ लाख ८९ हजार ३७७ रुपैयाँमा सम्झौता भइसकेको छ।

योजनाअन्तर्गत जयबागेश्वरी मन्दिरदेखि सेतोढोकासम्मको २९० मिटर सडक दायाँ–बायाँ रहेका घरहरूको सडकतर्फ देखिने मोहडालाई मल्लकालीन वा राणाकालीन वास्तुशैलीमा परिवर्तन गरिनेछ। 

वडा अध्यक्ष  तथा महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतका अनुसार आधुनिक संरचनालाई परम्परागत स्वरुपमा फर्काउने उद्देश्यले इँटाका गारो, बलेँसी, झिँगटीको छाना र परम्परागत झ्याल–ढोकाको प्रयोग गरिनेछ।

यस सडक खण्डसँग करिब २५० घरपरिवार जोडिएका छन्, जसमध्ये सडक वा खुला स्थानबाट देखिने अगाडिको भाग मात्र रुपान्तरण गरिने छ। क्षेत्रभित्र रहेका जयबागेश्वरी मन्दिर, सेतोढोका, विभिन्न फल्चा, डवली, चैत्य, देवालय तथा ऐतिहासिक इनारहरू धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा महत्वपूर्ण सम्पदा हुन्।

नवदुर्गा नाच, त्रिशुल जात्रा, गाईजात्रा, गुंला पर्व लगायतका जात्रा तथा परम्परागत संस्कार यही क्षेत्रबाट सञ्चालन हुँदै आएका छन्। लिच्छवीकालीन इतिहास बोकेको यस क्षेत्रको मौलिक पहिचान जोगाउँदै पुस्तान्तरण गर्नु योजनाको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ।

यसैक्रममा वडा कार्यालयले करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको यःपुखु (मनपर्ने पोखरी) को पुनर्निर्माण पनि अघि बढाएको छ।

महानगरपालिकाले ऐतिहासिक, पुरातात्विक र वास्तुकलात्मक महत्व बोकेका निजी तथा संस्थागत भवनको मौलिक स्वरुप संरक्षण गर्ने कार्यक्रमअन्तर्गत यो योजना कार्यान्वयनमा ल्याएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad