समाज


नेपाली सेनाद्वारा विविध कार्यक्रम गरी मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

नेपाली सेनाद्वारा विविध कार्यक्रम गरी मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

नेपालखबर
पुस २७, २०८२ आइतबार १७:३२, काठमाडौँ

आज (पुस २७ गते) ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२’ का अवसरमा नेपाली सेनाले विविध कार्यक्रम आयोजना गरेको छ।

जंगी अड्डामा आयोजित विशेष समारोहमा सेनाले राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहप्रति सलामी अर्पण गरेको थियो। 

कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देल लगायत पूर्वप्रधान सेनापति, रथीवृन्द, अधिकृत तथा अन्यदर्जाले पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण गरे।

उक्त कार्यक्रममा पुस २१ गते गोरखा दरबारबाट राष्ट्रिय झन्डा तथा नेपाली सेनाका प्रथम पाँच पल्टन (श्रीनाथ, कालीबक्स, बर्दबहादुर, सबुज तथा पुरानो गोरख) को झन्डा र दिपज्योति सहित सुरु भएको एकीकरण मार्ग पदयात्रा गोरखा, धादिङ, नुवाकोट हुँदै हनुमान ढोका पुगेर

आजै बिहान पृथ्वीनारायण शाहको तस्बिर बग्गीमा राखी नगर परिक्रमा पश्चात् जङ्गी अड्डामा सहभागी भएको थियो।

सो समारोह पश्चात् सभामण्डपमा आयोजित कार्यक्रममा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सञ्चालन भएको कविता प्रतियोगिताको उत्कृष्ट कविताहरू वाचन, लघु नाटक प्रस्तुति एवं इतिहासविदद्वारा नेपाल एकीकरणमा राष्ट्रनिर्माता पृथ्वीको देनको बारेमा प्रवचन भएको थियो। 

साथै, उक्त समारोहमा विभिन्न प्रतियोगिताका विजयी एवं निर्णायकहरू र प्रवाचकहरूलाई प्रधान सेनापतिले पुरस्कार एवं सम्मान प्रदान गरे।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा इतिहासको जगेर्ना, पुर्खाको योगदानको संरक्षण तथा पुरातात्त्विक महत्वका संरचनाको संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाद्वारा गोरखा काठमाडौँ लगायत धरानको फुस्रेबाट धनकुटाको पाख्रीबाससम्म ऐतिहासिक साँघुरीगढी पदयात्रा, उदयपुरको उदयपुरगढी–चौदण्डी गढी पदयात्रा, इलामको नागरीगढी देखि माईस्थानसम्म निशान पदमार्ग पदयात्रा, रामेछापको तिल्केस्थान गढी पदयात्रा जस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मुलुकभर एवं विदेशमा समेत नेपाली सेनाका युनिटहरूमा विविध कार्यक्रमहरू आयोजना गरिएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad