दोलखाको मेलुङ गाउँपालिका– १ का वडाध्यक्ष इश्वर कोइरालासहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
मृतकका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको आरोपमा वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले मेलुङ गाउँपालिका, वडा नं. १ का वडाध्यक्ष कोइराला, तत्कालीन वडा सचिव बिनय उप्रेती र वडा कार्यालयका कार्यालय सहायक दल बहादुर थापाउपर कैद तथा जरिवाना माग दाबी गर्दै सोमबार आरोप पत्र दायर गरेको जनाएको छ।
वडाध्यक्षसमेतले मृत्यु भइसकेका व्यक्तिको किर्ते सहीछाप गरी सामाजिक सुरक्षा भत्ता बापतको रकम निकाली हिनामिना गरेको अख्तियारको आरोप छ।
अनुसन्धानका क्रममा मेलुङ गाउँपालिका, वडा नं १ बाट आव २०७३।०७४, आव २०७४।०७५ र आव २०७५।०७६ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मृत्यु भइसकेका १४ जना लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता वितरण भरपाईको सक्कल कागजातमा लाभग्राहीको दस्तखत/औंठाछाप हुने खण्डमा वडाध्यक्ष इश्वर कोइरालाले बदनियतपूर्वक आफ्नो दायाँ हातको बुढी औंलाको औंठाछाप लगाई आठ हजार रुपैयाँ रकम भुक्तानी लिएको पाइएको छ।
यस्तै, वडा कार्यालयका कार्यालय सहायक दल बहादुर थापाले आव २०७३।०७४ को दोस्रो र तेस्रो चौमासिक, आव २०७४।०७५ को दोस्रो चौमासिक, आव २०७५।०७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता वितरण भरपाईसहितको १० जना लाभग्राहीको हस्ताक्षरको महलमा आफ्नो दायाँ हातको माझी औंला, दायाँ हातको बुढी औंला थान र दायाँ हातको साईंली औंला गरी जम्मा १३ थान औंठाछाप लगाई एक लाख रुपैयाँ रकम भुक्तानी लिएको अख्तियारको ठहर छ।
यसैगरी, वडा नं १ वडा कार्यालयका तत्कालीन वडा सचिव/खरिदार विनय उप्रेतीले आव २०७५।०७६ को दोस्रो चौमासिक अवधिको सामाजिक सुरक्षा भत्ता, दोस्रो किस्ता वितरण भरपाईसहितको लाभग्राहीहरुको हस्ताक्षरको महलमा आफ्नो बायाँ हातको बुढी औंलाको औंठाछाप लगाई ६४ हजार रुपैयाँ रकम भुक्तानी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
Shares

प्रतिक्रिया