जिल्लाको बूढीगंगा नगरपालिकाको त्रिशक्ति माविमा रहेको क्वारेन्टिनमा प्रयोग गरिएको चामलको गुणस्तर मापन गरिने भएको छ।
म्याद नाघेको चामल प्रयोग गरिएको र क्वारेन्टिनमा बसेका सर्वसाधारणलाई पखालासमेत लागेको पाइएपछि चामलको गुणस्तर मापन गर्न लागिएको हो।
लकडाउनको मौका छोपेर व्यापारीले त्यस्तो चामल बिक्री गरेकै कारण सर्वसाधारण बिरामीसमेत परेपछि ल्याब परीक्षण गर्न लागिएको बूढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताए। नगरपालिकाले खरिद गरेका चालमको म्याद नै नाघेको र मार्करले नयाँ मिति लेखिएको अवस्थामा भेटिएको भनी चौतर्फी विरोध हुन थालेपछि चामलको गुणस्तर मापन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख शाहको भनाइ छ।
चौतर्फी आलोचना र विरोधपछि जिल्ला प्रशासन कार्यालय बाजुराले समेत त्यसको वास्तविकता के हो भनेर नगरपालिकालाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए। प्रशासनको पत्रपछि नगरपालिकाले नगर उपप्रमुख तारा खातीको नेतृत्वमा छानबिन समिति बनाएको छ।
क्वारेन्टिनमा प्रयोग गरिएको चामलको मिति हेर्दा सन् २०१७ फ्रेबुअरी रहेको छ। तर चामलको कट्टामा भने मार्करले सन् २०२० लेखिएको छ। चामल स्थानीय व्यापारी सुनिल बानियाँको पसलबाट खरिद गरिएको बताइएको छ। रासस

प्रतिक्रिया