पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली शनिबार दिनभर नै कायम भएको थियो।
विभागका सूचना अधिकारी दिनकर कायस्थले मौसम बदली कमजोर बन्दै गएको बताए । यद्यपि, छिटपुट रूपमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपात आइतबारसम्म कायम रहने उनले जानकारी दिए ।
विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो।
यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार, दैलेखमा १४ दशमलव तीन, जुम्लामा १२ दशमलव सात, मुगुमा १२, डोल्पामा १३ दशमलव पाँच मिलिमिटर वर्षा भएको विभागको अभिलेखमा उल्लेख छ।
विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ।
विभागको बुलेटिनमा हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव कायम रहेकाले कोशी, मधेश र बागमती प्रदेशलगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागिरहेको छ।
Shares

प्रतिक्रिया