समाज


सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानूनी दायरामा ल्याउन आदेश कुर्नु पर्दैन : गृहमन्त्री अर्याल

सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानूनी दायरामा ल्याउन आदेश कुर्नु पर्दैन : गृहमन्त्री अर्याल

नेपालखबर
माघ ११, २०८२ आइतबार १६:४०, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालसहितको टोलीले आइतबार नेपाल प्रहरीको साइबर ब्युरो र काठमाडौँको हनुमानढोकामा अवस्थित पुरानो काठमाडौँ प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गरेको छ। 

गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्लेसहितको टोलीले भोटाहिटीस्थित ब्युरो कार्यालय पुगेर वस्तुस्थितिबारे जानकारी लिएको हो। 

यस क्रममा गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर ब्युरोले सामाजिक सञ्जालबाट हुन सक्ने अमर्यादित र कानुनले वर्जित गरेका तथ्यहीन र भ्रामक समाचार वा जानकारीलाई सुक्ष्म ढंगले अनुगमन गर्नुपर्ने बताए। उनले त्यस्ता अवैधानिक र दर्ताविनै सञ्चालनमा रहेका सामाजिक सञ्जालको नियमनका लागि खेल्नु पर्ने भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। 

ब्युरोबाट नियमित र विशेष रूपमा प्रदान गरिने सेवाबारे ब्युरो प्रमुख तथा प्रहरी नायब महानिरीक्षक नबिन्द अर्यालबाट जानकारी लिँदै निर्वाचनको समय अझै बढी सक्रिय भई स्वचालित रूपमा सक्रिय भएर सामाजिक सञ्जालमा राखिने र छरिने भ्रमबारे छानबिन गरेर कारबाही गर्न निर्देशन दिए।

‘कतिपय व्यक्ति, संस्था र समूहले गर्ने र हाल्ने पोस्टहरू कत्तिको तथ्यपरक र सही हुन्, त्यसको जानकारी लिई ब्युरो आफैले त्यस्ता पोस्ट र जानकारी हाल्ने जो कोहीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न आदेश कुर्नु पर्दैन,’ अर्यालले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad