राजधानीको व्यस्त व्यापारिक केन्द्र जमलमा मंगलबार दिउँसो पाँचवटा सवारीसाधन एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। केशरमहलबाट जमलतर्फ जाँदै गरेका र विपरीत दिशाबाट आउँदै गरेका सवारीसाधन जमलस्थित यलो प्यागोडा होटल अगाडिको सडक खण्डमा ठोक्किएका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दिउँसो १२:२० बजे बा.प्र.०१९०२८ च ४५१२ नम्बरको कुरियर भ्यान र बा.प्र.०२००५६ प ३९६७ नम्बरको ईभी स्कुटर जमलतर्फ जाँदै थिए। सोही समयमा विपरीत दिशाबाट आउँदै गरेका बा ३५ प ९१४४ र बा.प्र.०२९०३१ प ३०७९ नम्बरका दुई मोटर साइकल तथा बा.प्र.०१९००४ क ५३८१ नम्बरको निजी ईभी हाईस भ्यानसँग ती सवारीसाधन ठोक्किएका थिए।
दुर्घटनामा ९१४४ नम्बरको मोटर साइकल चालक २८ वर्षीय ललितजंग संजेल र पछाडि सवार ३१ वर्षीया ईशु तामाङ घाइते भएका छन्। त्यस्तै ३०७९ नम्बरको मोटर साइकलमा सवार ३६ वर्षीया सुनिता वली बुढा र स्कुटर चालक ४० वर्षीय विजय श्रेष्ठ घाइते भएका छन्। घाइतेमध्ये सुनिताको राष्ट्रिय ट्रमा सेन्टरमा र अन्य तीन जनाको ग्राण्डी सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।
अत्यधिक चाप हुने सडकमा एकैपटक पाँच सवारीसाधन ठोक्किएपछि केही समय दरबारमार्ग र जमल क्षेत्रको यातायात आवागमन प्रभावित भएको थियो। ट्राफिक प्रहरीले दुर्घटनामा संलग्न पाँचै वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। कुरियर भ्यान चालक विश्वनाथ कोइराला र ईभी भ्यान चालक राघव श्रेष्ठलाई प्रहरीले सोधपुछका लागि राखेको छ।
साँघुरो सडक र सवारीसाधनको अनियन्त्रित गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
Shares

प्रतिक्रिया