समाज


काठमाडौँमा प्रहरीले गोली प्रहार गरेर पक्राउ गर्‍यो १० ‘लुटेरा’

१२ बजेराति लुटेराले चलाएको मोटरसाइकलको ठक्करबाट चेकप्वाइन्टमा खटिएका २ प्रहरी घाइते
काठमाडौँमा प्रहरीले गोली प्रहार गरेर पक्राउ गर्‍यो १० ‘लुटेरा’

फाइल तस्बिर


नेपालखबर
माघ १५, २०८२ बिहिबार १०:४०, काठमाडौँ

प्रहरीले गोली प्रहार गरेर काठमाडौँको मुलपानीबाट १० जना ‘लुटेरा’लाई पक्राउ गरेको छ। प्रहरीको गोली लागेर एकजना लुटेरा घाइते भएका प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार घटना गएराति १२: १५ बजेको हो। 

‘मध्यराति मूलपानीमा हाम्रो टोली चेक प्वाइन्ट खडा गरेर बसेको थियो,’ प्रवक्ता भट्टराईले नेपालखबरसँग भने, ‘मोटरसाइकलमा आएका उनीहरूले चेकप्वाइन्टमा ट्युटीमा रहेका प्रहरीलाई नै मोटरसाइकलले ठक्कर दिएर भाग्न खोजेपछि बाध्य भएर गोली चलाउनु परेको हो।’

प्रहरीको गोली लागेर एकजना घाइते भएका छन्। त्यसक्रममा प्रहरीले उनीसहित थप १० जनालाई पक्राउ गरेको छ। 

‘मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीका सहायक हबलदार मोहन भट्ट र प्रहरी जवान पुष्पराज भण्डारी घाइते हुनु भएको छ,’ भट्टराईले भने। उनीहरूको अवस्था पनि सामान्य छ। 

पक्राउ परेकाहरू काठमाडौँमा भएका विभिन्न लुटपाटका घटनामा संलग्न हुँदै आएको दाबी प्रहरीले गरेको छ।  

‘विभिन्न समयमा काठमाडौँमा लुटपाट गर्ने समूहको खोजतलासमा हामी थियौँ,’ एसपी भट्टराईले भने, ‘सोही क्रममा गएराति मूलपानीबाट १० जना पक्राउ परेका हुन्। थप लुटेराको खोजी र यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी नै छ।’

प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन। उनीहरू सबै हाल प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। गोली लाग्ने युवकको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ। 

घटनाका सम्बन्धमा विस्तृत विवरण पछि सार्वजनिक गरिने एसपी भट्टराईले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad