समाज


बालिका मृत्यु घटनाको छानबिन गर्न स्थानीय प्रशासनलाई सहयोग गर्छौं: रास्वपा

बालिका मृत्यु घटनाको छानबिन गर्न स्थानीय प्रशासनलाई सहयोग गर्छौं: रास्वपा

नेपालखबर
माघ २३, २०८२ शुक्रबार १२:३६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको गाडीको ठक्करबाट बालिकाको मृत्यु घटनाको छानबिन गर्न स्थानीय प्रशासनलाई सहयोग गर्ने जनाएको छ। 

शुक्रबार रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रेस विज्ञप्ति जारी गरी बालिकाको मृत्यु घटनाले स्तब्ध बनाएको जनाएका छन्। ‘रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको असामयिक निधन भएको खबरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्तै स्तब्ध र मर्माहत भएको छ,’ बुर्लाकोटीले भनेका छन्, ‘यस कठिन र शोकको घडीमा मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौँ।’

रास्वपाले यस घटनालाई अत्यन्त गम्भीरतासाथ लिएको जनाएको छ। ‘घटनाको वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न हामी प्रतिबद्ध छौँ। कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सन्दर्भमा पार्टीले कुनै कसर बाँकी राख्ने छैन,’ उनले भनेका छन्, ‘पीडित परिवारलाई हुन सक्ने राहत र सहयोगका लागि पार्टीका तर्फबाट आवश्यक पहल भइरहेको जानकारी गराउँदछौँ।’

अबदेखि चुनावी अभियानका क्रममा सतर्कता अपनाउने जनाएको छ। ‘चुनावी अभियानका क्रममा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकता दिन पार्टीपंक्ति, उम्मेदवार र सवारी चालकहरूलाई कडा निर्देशन समेत जारी गर्दछौँ,’ रास्वपाले भनेको छ। 

बिहीबार रौतहट-२ का रास्वपाका उम्मेदवार शेख सगिरको गाडीले ठक्कर दिँदा चार वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको प्रहरीको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad