धादिङमा दुईवटा बस ठोकिँदा घाइते भएका टिपर चालकको मृत्यु भएको छ।
धादिङको थाक्रेमा आज बिहान दुईवटा बस आपसमा ठोकिँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ।
मृतक युवक धादिङकै धुनिबेसी नगरपालिका ९ स्याउले घर भएका ३५ वर्षीय सुजन तामाङ छन्।
आइतबार बिहान ७ः३० बजे दाङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र।३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको बस आपसमा ठोक्किएका थिए।
ठक्करपछि दुवै बस सडकछेउमा रहेको टिनले छाएको खाजा पसलमा ठोकिँदा थप क्षति पुगेको धादिङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डीएसपी० प्रकाश दाहालले जानकारी दिए।
उनका अनुसार दुईवटा बस ठक्कर खाएपछि बाँके वैजनाथ गाउँपालिका–१ स्थायी ठेगना भइ हाल दशकिलामा पसल सञ्चालन गर्दै आएका खगेश्वर शर्माको चिया पसलमा पनि क्षति पुगेको छ।
दुर्घटनाको समयमा उक्त पसलछेउमा टिपर रोकेर चिया–नास्ता खाइरहेका धुनिवेशी नगरपालिका–९ स्याउले निवासी ३५ वर्षीय सुजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। उनलाई चिकित्सकले बिहान १० बजे मृत घोषणा गरेका हुन्।
दुर्घटनामा काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बसमा सवार अन्दाजी ८ वर्षीया बालिका सफलता पुलामी मगर सामान्य घाइते भएकी छन्। उनको थाक्रे पोलिक्लिनिकमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।
अन्य यात्रु भने सुरक्षित रहेका छन्।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानीखोला तथा प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि काठमाडौँ पठाएको थियो।
दुर्घटनामा संलग्न दुवै बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन्। घटनास्थलमा हाल सवारी आवागमन सामान्य रहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

Shares

प्रतिक्रिया