सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले बागमती प्रदेशको महालक्ष्मी नगरपालिकाबाट खोप अभियान सुरु गरेको हो। महाशाखाले हिमाली जिल्लाबाहेक देशभर फागुन १५ गतेसम्म खोप सञ्चालन गर्ने जनाएको छ।
महाशाखाले विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरी, कक्षा ६ मा अध्ययनरत सबै छात्रा र गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययरत छात्रालाई खोप लगाउने जनाएको छ।
महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले हिमाली जिल्लामा चिसो मौसमको अवस्थालाई ध्यानमा राखी चैत-वैशाख महिनामा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताए। उनले विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरी र कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ३ लाख ५० हजार किशोरीलाई खोप लगाउने निर्णय भएको जानकारी दिए।
गत वर्ष खोप लगाउन छुटेका किशोरीलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गरिने उनले बताए। सरकारले यस वर्षदेखि ‘एचपीभी’ खोपलाई नियमित खोप कार्यक्रम अन्तर्गत राखेको छ।
एचपीभी खोप ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्ध लगाइन्छ। चिकित्सकका अनुसार यो छाला र यौन अंगमा असर गर्ने एक प्रकारको छिटो सर्ने भाइरस हो। भाइरसले मुख्यतः छाला र शरीरका ओसिलो सतहको कोसिकालाई असर गर्छ। एचपीभी तीव्र रुपमा फैलिने भाइरसमा पर्छ।
पाठेघरको मुखमा हुने क्यान्सरमध्ये ९५ प्रतिशतभन्दा बढी क्यान्सर एचपीभी भाइरसका कारणले हुन्छ। एचपीभीका २०० भन्दा बढी किसिमका प्रजाति छन्।

यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन्। क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको पाइएको छ।
चिकित्सकका अनुसार पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग हो। कम उमेरमा विवाह गर्ने, कम उमेरमा धेरै बच्चा जन्माउने महिला बढी जोखिममा हुने हुँदा बालविवाहलाई निरुत्साहित गर्ने, निश्चित अन्तरालमा मात्र बच्चा पाउने, धेरै जनासँग यौनसम्पर्क नराख्ने, यौनाङ्गको सरसफाइमा ध्यान दिँदा पनि यसबाट बच्न सकिन्छ।
यस्तै सुर्तीजन्य पदार्थ सेवन नगर्ने, कुनै पनि यौनरोगको समयमै उपचार गराएर पनि पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ। समय समयमा स्क्रिनिङ परीक्षण गर्ने र १० देखि १४ वर्ष उमेरका किशोरीलाई एचपीभी खोप लगाउने गर्दा पाठेघरको मुखमा हुने क्यान्सरबाट बच्न सकिन्छ।
Shares

प्रतिक्रिया