भक्तपुरको सूर्यविनायक नगरपालिकाले गरेको खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट भएपछि तिलकदास श्रेष्ठ तीन वर्षअघि देवी आधारभूत विद्यालय पुगे। शैक्षिक सत्र २०८० सालमा उनी त्यहाँ पुग्दा विद्यालयको अवस्था दयनीय थियो। विद्यार्थी संख्या न्यून भएकाले विद्यालय मर्ज गर्ने अवस्थामा पुगेको थियो। कक्षा ५ सम्म चलेको विद्यालयलाई कक्षा ३ मा घटुवा गरिएको थियो।
‘ईसीडीमा १५ जना नानीबाबु थिए। कक्षा १ मा दुई, कक्षा २ मा एक र कक्षा ३ मा एक गरी बीस जना विद्यार्थी थिए,’ प्रअ श्रेष्ठ भन्छन्, ‘भौतिक संरचना कमजोर थियो। विद्यालय परिसरमा घेराबार थिएन। प्रांगण धुलाम्य थियो। चौरभरि घाँस उम्रेको थियो। ईसीडीका नानीहरू च्यातिएको फोमबाट बनाइएका चकटीमा बस्थे। विद्यालय देख्दा मन रोयो।’
विद्यालयलाई माथि उठाउन उनी सहकर्मी शिक्षकसहित स्रोत–साधनको खोजीमा जुटे। उनले सहयोगका लागि व्यक्ति, संघसंस्थादेखि सांसदसम्मलाई गुहारे।
उनी भन्छन्, ‘प्रदेशका मुख्यमन्त्रीको स्वकीय सचिव र एकजना संघीय माननीयलाई ल्याएर विद्यालय देखाएँ। अर्को संघीय माननीयको घर धाएँ। कसैले सहयोग गर्छौँ भने। तर गरेनन्। कसैले चाहिँ कति दुःख गर्नुहुन्छ। तलब आइहाल्छ, बिहानदेखि बेलुकासम्म किन खट्नुपर्यो भने।’
उनले हार मानेनन्। सहयोगका लागि शिक्षकहरूको साथ लिएर स्थानीय समाजसेवी, जनप्रतिनिधि, बुद्धिजीवी र मनकारी दातासँग सम्पर्क जारी राखे।
‘हामी विद्यालयलाई माथि उठाउन चाहन्छौँ। हामीलाई विश्वास गर्नुहोस्, सहयोग गर्नुहोस् भनेर निरन्तर लागिरह्यौँ,’ उनले भने।
फलस्वरूप कसैले अभिभावक बस्ने प्रतीक्षालय बनाइदिए। कसैले बालबालिकाका लागि पिङ। कसैले बालबालिकाको पोसाकका लागि सहयोग गरे। कुनै संस्थाले चकटी र कक्षाकोठामा कार्पेटिङ्ग गरिदिए। वडा कार्यालयले शिक्षक व्यवस्थापनमा सहयोग गर्यो। घेराबारको लागि नगरपालिकाले सहयोग गर्यो।
कुनै पनि संघसंस्था र व्यक्तिबाट सहयोग पाउन सजिलो हुँदैन भन्ने उनको अनुभव छ। तर पनि उनी माग्न पछि नपर्ने बताउँछन्, ‘म मागेर थाक्दिनँ। मैले मेरो घर बनाउन वा आर्थिक लाभको लागि मागेको होइन। बाबुनानीको हितको लागि मागेको हो। विद्यालयलाई माथि उठाउन मागेको हो। आर्थिक हिसाबकिताबमा म पारदर्शी छु।’

अभिभावकको विश्वास र सहयोगबाट विद्यालयलाई माथि ल्याउन सकिन्छ भन्नेमा उनी विश्वास गर्छन्। अभिभावकसँगको सम्बन्ध विस्तारलाई उनले प्राथमिकतामा राखे।
प्रअ तिलक श्रेष्ठ भन्छन्, ‘२०८० सालको चैतमा अभिभावक भेलामा सहयोग माग गर्यौँ। सक्ने अभिभावकबाट मासिक ३०० रूपैयाँ लिन्छौँ। विद्यालय स्रोत शिक्षक राख्न सहयोग पुगेको छ।’
देवी आविले घरघर गएर पनि अभिभावकसँग भेटघाट कार्यक्रम सुरु गरेको छ। अभिभावकले निर्धक्क आफ्नो कुरा भन्न सकून् र विद्यालय आउन नभ्याउनेलाई घरमै भेट्न सकिन्छ भनेर प्रश्नावलीसहित ‘एक घर, ५ मिनेट’ कार्यक्रम सुरु गरिएको हो।
शिक्षकहरू घरघर पुगेर तपाईंको नानीबाबुलाई मन पर्ने विषय कुन हो? कठिन लागेको विषय कुन हो? घरमा कुन शिक्षकको बारेमा नानीबाबु राम्रो कुरा गर्छन् र कुन शिक्षकका बारेमा नराम्रो कुरा गर्छन्? लगायतका एक दर्जन प्रश्न सोध्छन्।
प्रअ तिलक श्रेष्ठका अनुसार शिक्षकले आफ्नो व्यवहार र शिक्षण सिकाइमा सुधार गरुन् भन्ने उद्देश्यले यस्ता प्रश्न राखिएको हो। विद्यालयको सकारात्मक र सुधार गर्नुपर्ने पक्षका बारेमा पनि अभिभावकसँग शिक्षकले कुराकानी गर्छन्।
विद्यालयमा शिक्षण सिकाइमा अन्तरक्रियात्मक अभ्यास, शैक्षिक सामग्रीको प्रयोग, कक्षाकोठाबाहिरको अवलोकनदेखि हिज्जे प्रतियोगिता र खेलकुदलगायतका अतिरिक्त क्रियाकलापमा जोड दिइएको छ।
‘जबसम्म सिकाइ राम्रो हुँदैन अभिभावकको मन जित्न सकिँदैन। मेरो कक्षाकोठामा साथीहरू मेरो शिक्षण सिकाइ हेर्नुहुन्छ। उहाँहरूको शिक्षण सिकाइ म हेर्छु,’ श्रेष्ठले भने।
सुधारका लागि विद्यालयले गरेको प्रयास देखेपछि विद्यालय पुग्नेहरू स्वतःस्फूर्त रूपमा सहयोग गर्न अघि बढ्ने गरेको उनको भनाइ छ– ‘शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरकी प्रमुख हाम्रो विद्यालय आउनुभएको थियो। हामीले गरेको काम देखेर खुसी हुनुभयो। व्यक्तिगत रूपमा २५ हजार रूपैयाँ सहयोगस्वरूप दिनुभयो।’
त्यस्तै केही समयअघि मकवानपुर जिल्लाको मकवानपुर गढी गाउँपालिकाका शिक्षा शाखा अधिकृत, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, व्यवस्थापन समितिका अध्यक्ष लगायत ३० जनाको समूह विद्यालयमा पुगेको थियो।
‘सानो ठाउँ भए पनि हाम्रो बलबुताले भ्याएसम्म शिक्षण सिकाइमा हामीले गरेको काम देखेर उहाँहरू प्रभावित हुनुभयो। १२ हजार रूपैयाँ सहयोग गर्नुभयो,’ उनले भने।
लेखा परीक्षकले समेत हिसाबकिताब चुस्त–दुरुस्त राखेको रहेछ, शून्यबाट विद्यालय उठाउनुभएको रहेछ भनेर आफ्नो पारिश्रमिकबाट केही सहयोग रकम दिएर गएको उनले बताए।
देवी आविमा बीस जनाबाट बढेर अहिले १३४ जना विद्यार्थी छन्। कक्षा ३ मा झरेको विद्यालय कक्षा ५ सम्म सञ्चालन भएको छ। मृतावस्थामा पुगेको विद्यालयलाई पुनर्जीवन दिएको भनेर विद्यालयले नगद पुरस्कार र सम्मानपत्र पाएको छ। र, अहिले विद्यालय नगरपालिकाको प्राथमिकतामा पनि परेको छ।
प्रअ श्रेष्ठ भन्छन्, ‘नगरप्रमुखले देवीलाई म एक नम्बरमा राख्दैछु। विद्यालय आउँछु, केके समस्या छन् आफ्नै आँखाले हेरेर सकेको सहयोग गर्छु। तपाईं ढुक्क हुनुहोस् भनेर वचन दिनुभएको छ। वडाध्यक्षले पनि निरन्तर लागिरहनुभएको छ।’

देवी आविका प्रअ र शिक्षकहरू जुझारु, सक्रिय र केही गरौँ भनेर निरन्तर लागे पनि अझै विद्यालयमा थुप्रै समस्या छन्।
प्रअ श्रेष्ठ यी समस्या समाधान भए विद्यालयमा विद्यार्थी बढ्ने र कक्षा ८ सम्म पुर्याउन सकिने विश्वास व्यक्त गर्छन्, ‘ट्रसको पुरानो कच्ची भवन छ। मर्ज भएको विद्यालयबाट ल्याइएका पुराना डेस्क बेन्च छन्। साँघुरो कक्षाकोठामा सिकाइ क्रियाकलाप गर्न गाह्रो छ। भौतिक संरचनामा सहयोग भए हुन्थ्यो। हामी पढाइ सिकाइमा अझ मेहनत गर्छौँ। वरपर निजी विद्यालयमा प्रशस्त विद्यार्थी छन्। ती हाम्रोमा आउँछन्।’
भौतिक पूर्वाधारका लागि उनले संघीय सरकारसमक्ष सहयोग माग गरेका पनि थिए। केही महिनाअघि उनी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय कार्यान्वयन आयोजना इकाइ, भक्तपुर गए।
‘इकाइले सूचना निकालेको थियो। फर्म भरेर बुझाएँ। इकाइमा गएँ। भवन नाजुक अवस्थाको छ भनेर समस्या राखेँ। त्यहाँको सरले तपाईंको विद्यालय हाम्रो विद्यालयको नर्म्सभित्र पर्दैन, सरी भन्नुभयो,’ उनले भने, ‘त्यसपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा गएर महानिर्देशकसँग कुरा राखेँ। उहाँले हाम्रो जस्तो सानो आधारभूत विद्यालयलाई सहयोग गर्ने कुनै कार्यक्रम नभएको बताउनुभयो। म अत्यन्त दुःखी भएँ।’
आधारभूत विद्यालयका सम्बन्धमा शिक्षा मन्त्रालयको विभेदकारी नीति, स्थानीय तहको कम प्राथमिकताका कारण विभिन्न संघसंस्था र व्यक्तिलाई मागेर हिँडनुपर्दा उनी कहिलेकाहीँ निराश पनि हुन्छन्।
‘कहिलेकाहीँ त काम छोडेर हिँडौँ जस्तो लाग्छ। परिवारलाई समय दिन पाएको छैन। विभिन्न संघसंस्था र व्यक्तिलाई मागेर हिँड्नु परिरहेको छ। तर निराश भएको देख्नेबित्तिकै सहकर्मी साथीहरूले हामी छौँ नि भन्नुहुन्छ। हौसला दिने टिम छ,’ उनले भने।
प्रअको ५ वर्षे कार्यकालमध्ये उनको तीन वर्ष पूरा हुनै लागेको छ। यो तीन वर्षमा उनलाई देवी आविलाई जोगाउन सकिएकोमा आत्मसन्तुष्टि मिलेको छ। अब विद्यालय अघि बढ्छ भन्नेमा उनी विश्वस्त छन्। व्यक्तिगत स्वार्थबिना काम गर्दा सहकर्मीहरूको उल्लेख्य सहयोग पाउन र विद्यालयसँग चटक्कै माया मारेका अभिभावक र समुदायसँग पुनः सम्बन्ध जोड्न सकिँदो रहेछ भन्ने सिकाइ भएको छ।
र, यो अवधिको अर्को निष्कर्षका रूपमा प्रअ श्रेष्ठ भन्छन्, ‘समस्या पहिचान गरेर आवश्यकताका आधारमा सरकारले सहयोग गरेन भने आधारभूत विद्यालय सकिन्छन्।’
मृतावस्थामा पुगेको देवी आधारभूत विद्यालयले कसरी पुनर्जीवन पाएको छ? प्रअ तिलकदास श्रेष्ठसँग नेपालखबरले गरेको भिडिओ कुराकानी :
Shares

प्रतिक्रिया