नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बन्द हुँदा नगारिकले उपचार गर्नै नसक्ने स्थिति आउने बताएका छन्।
सोमबार काठमाडौँ-५ मा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य बीमालाई सहज रुपमा सञ्चालन गर्नुपर्ने बताए। ‘सरकारले स्वास्थ्य बीमा बन्द हुन दिनुहुँदैन,’ उनले भने।
आफू स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रुपमा रहँदा स्वास्थ्य बीमाको सुधार गर्दै नीतिगत तथा व्यवहारिक सुधार अघि बढाएको बताए। कानूनी संशोधन गर्ने चरणमा पुगेका बेला सरकारबाट बाहिरिएपछि प्रक्रिया रोकिएको उनको भनाइ थियो।
त्यसलाई सुधार गरेर लैजानुपर्ने उनको भनाइ थियो। ‘स्वास्थ्य बीमा बन्द भयो भने नागरिकले उपचार गर्नै नसक्ने भयावह स्थिति आउँछ,’ पौडेलले भने।
स्वास्थ्य बीमा सुधारको स्पष्ट दृष्टिकोणसहित प्रतिवेदन बनाएर राष्ट्रिय सभामार्फत कानुन संशोधन हुने कार्यसूचीमा रहेको उनले बताए। आफू नेतृत्वमा रहँदा सुधार गरेकै आधारमा विपन्न सुविधासहित ३ लाखदेखि साढे ७ लाखसम्म प्राप्त गर्ने अवस्था सिर्जना भएको बताए।
स्वास्थ्य बीमालाई सुधार मात्रै विकल्प भएको उनको भनाइ थियो। ‘हामीले तयार गरेको प्रतिवेदनको आधारमा प्रक्रिया लागू गर्ने हो भने एक वर्षमा १ खर्बसम्म बीमाले आम्दानी गर्छ,’ पौडेलले भने, ‘त्यसो भए चाहिनेलाई ५ लाख दिन कुनै गाह्रो हुने छैन। हामीले कसरी गर्ने, कसलाई दिने सबै तय गरेर छाडेका छौँ।’
उनी प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-५ मा उम्मेदवार बनेका छन्।
Shares

प्रतिक्रिया