वैदेशिक रोजगारीको प्रलोभनमा पारेर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ।
आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको उजुरीको आधारमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका-९ बस्ने महोत्तरी सम्सी गाउँपालिका-१ घर भएका ४१ वर्षीय जटाधर राउत, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-३ घर भएका काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-३ बस्ने ४१ वर्षीय ठमराज नेपाली परियार र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३९ वर्षीय राम कुमार राई रहेका छन्।
जटाधरले बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ५ जना पीडितबाट ८० लाख रूपैयाँ तथा ठमराज र रामकुमारले यूएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जटाधरलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट, ठमराजलाई काठमाडौँ महानगरपालिका-१२ बाट र रामकुमारलाई ललितपुर महालक्ष्मी नगरपालिका(३ बाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया