नवलपरासी, बागलुङ र सिराहामा भएका सवारी दुर्घटनामा तीन जना किशोरको मृत्यु भएको छ।
सिराहाको कल्याणपुर नगरपालिका-४ डडुलमा ट्याक्टर दुर्घटना हुँदा १३ वर्षीय बालकको मृत्यु भएको छ।
प्र.२.०१-००१ त १३२० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक कल्याणपुर नगरपालिका-४ डडुल बस्ने बेचन यादव छोरा १३ वर्षीय रिकेश कुमार यादवको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी अस्पताल कल्याणपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको मंगलम अस्पताल मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरि नवलपरासी पूर्वको देवचुली नगरपालिका-१४ देवचुलीमा बा.२१ च ५१६८ नम्बरको स्कार्पिओले साइकललाई ठक्कर दिँदा १४ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा देवचुली नगरपालिका-१४ बस्ने १४ वर्षीय रिप्सन सुनार छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका साइकल चालकको नयाँ मेडिकल कलेजमै उपचार भइरहेको छ।
दुर्घटनापछि स्कार्पिओ चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि बागलुङको बागलुङ नगरपालिका-३ शिवधारामा भ्यान दुर्घटना हुँदा १५ वर्षीय किशोरको मृत्यु भएको छ।
ग.३ च ८६२१ नम्बरको भ्यान अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा भ्यानमा सवार सोही नगरपालिका-३ बस्ने १५ वर्षीय अमन बोहोराको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका भ्यानमा सवार चालकसहित १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
Shares

प्रतिक्रिया