समाज


वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको निधन, आजै अन्त्यष्टि गरिने

वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको निधन, आजै अन्त्यष्टि गरिने

नेपालखबर
फागुन ३, २०८२ आइतबार ५:४८, काठमाडौँ

वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विश्वबन्धु थापाको निधन भएको छ। 

९८ वर्षीय थापाको उपचारको क्रममा शनिबार साँझ मण्डिखाटारस्थित हेम्स अस्पतालमा निधन भएको राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिए। 

करिब एक महिनाअघि उनलाई स्ट्रोक भएको थियो। केही सुधार भएपछि उनी घर फर्किएका थिए। तर, केही दिनअघि पुनः स्वास्थ्यमा समस्या देखिएकापछि उनलाई अस्पताल भर्ना गरिएको थियो। 

२००७ सालदेखि नेपाली राजनीतिमा सक्रिय रहेका थापा पञ्चायतकालका प्रभावशाली नेतामध्येका एक थिए। 

उनले पञ्चायती व्यवस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै प्रशासन र नीतिनिर्माण तहमा भूमिका निर्वाह गरेका थिए।

तत्कालीन राजा महेन्द्रबाट २०१७ सालमा चालेको कदमपछि उनले पञ्चायतलाई वैचारिक र साङ्गठनिक रूपमा नेतृत्व दिएका थिए। उनी राष्ट्रिय पञ्चायतका अध्यक्ष र मन्त्रिपरिषद्को उपाध्यक्षसमेत बनेका थिए। 

थापा तात्कालीन राजा महेन्द्रका विश्वासपात्र र नेपाली कांग्रेसका सभापति बिपी कोइरालाका अनुयायीसमेत भएको राप्रपाका नेता कमल थापाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

राप्रपाको निर्माण र संगठन विस्तारमा पनि उनको महत्वपूर्ण योगदान रहेको थियो। उनी एकताका नेपाली कांग्रेसको महामन्त्रीसमेत बनेका थिए। 

थापा तत्कालीन राजा महेन्द्रले १ पुस २०१७ मा जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई हटाएर निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मन्त्री बनेका थिए। 

थापाको दाहसंस्कारअघि उनको पार्थिव शरीर आज बिहान श्रद्धाञ्जलीका लागि राखिने छ। त्यसपछि उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। 

थापाका दुई छोरी र दुई छोरा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad