समाज


मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर खेलियो होली

मिथिला माध्यमिकी परिक्रमाः कञ्चनवन पुगेर  खेलियो होली

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०८२ मंगलबार ५:२९, धनुषा

मिथिलाको महाकुम्भ मिथिला माध्यमिक परिक्रमाअन्तर्गत सोमबार श्रद्धालु महोत्तरीको कञ्चनवन पुगेर रङ–अबिर साटासाट गर्दै हर्षोल्लासका साथ होली मनाएका छन्।

कञ्चन वन पुगेर परिक्रमामा सहभागी श्रद्धालु तथा साधुसन्तले प्रत्येक वर्ष होली खेल्ने गर्छन् । सोही परम्पराअनुसार यस वर्ष पनि परिक्रमा विश्रामका क्रममा होली खेलेका हुन्। 

मिथिला विहारीको डोलासहित कञ्चनवन पुगेका श्रद्धालुहरूले एकअर्कालाई रङ अबिर दल्दै उल्लासपूर्वक होली पर्व मनाएका हुन् । मिथिलामा कञ्चन वनमा होली खेलेसँग होलीको सुरुआत भएको छ।

ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा सोमबार महोत्तरीको भङ्गाहा नगरपालिका–९ हरिनमरीस्थित कञ्चनवन पुगेर होली मनाएका छन् । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भङ्गाहा नगरपालिकाले भव्य स्वागत गरिएको थियो । नगरप्रमुख सञ्जिव साहले परिक्रमामा सहभागी भएकालाई स्वागतका लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको र पुवा, खीर, सर्वत, अबिर, फूलमालाको व्यवस्थासहित होली मिलन समारोह र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको बताए।

स्थानीय मठमन्दिरका महन्थ, विभिन्न सामाजिक तथा सांस्कृतिक अभियन्ताका साथै राजनीतिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिताले कञ्चनवनको होलीलाई विशेष बनाउने गरेको छ। 

धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा यहाँको होली वर्षेनि थप व्यवस्थित हुँदै गएको स्थानीय बताउँछन् । यस वर्ष यस अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्णाप्रसाद यादवलेसमेत सहभागिता जनाएका छन्र

कञ्चनवनमा त्रेतायुगमा भगवान् राम र सीताले रङ अबिर खोलेर होली मनाएको धार्मिक विश्वास रहिआएको छ। धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट सुरु भएको परिक्रमा आठौँ दिन कञ्चनवन पुगेर होली खेल्ने र रात्रि विश्राम गर्ने परम्परा छ।

यही फागुन ४ गतेदेखि सुरु भएको मिथिलाञ्चलका महाकुम्भ मानिने सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रूपमा रहेको मिथिला माध्यमिकी परिक्रमा यसअघि हनुमानगढीबाट कल्याणेश्वर, भारतको गिरिजास्थान, महोत्तरीको मटिहानी, जलेश्वर, मडई हुँदै ध्रुवकुण्ड पुगेका थिए।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माताजानकी र मिथिला विहारी नगरपालिकाको कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोलासहित जनकपुरधामबाट सुरु भएको मिथिला परिक्रमा विधिवत् रूपमा १५ दिने यात्रा तय गरिरहेका छन्। 

कञ्चनवनपश्चात् पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागु पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिक रुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजारौँ सहभागिता रहने गरेको छ।

नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्रामा नेपालको धनुषा र महोत्तरीको १३ तथा भारतको दुई गरी १५ विश्रामस्थलमा जाने गरेका छन्।

यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्नुपर्ने परम्परा छ । परिक्रमामा सहभागी हुनाले मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने तथा मोक्षप्राप्ति हुने धार्मिक मान्यता छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad