त्रिभुवन विश्वविद्यालय (त्रिवि) टाइम्स हाइअर एजुकेसन (टीएचई) विश्वविद्यालय वरीयतामा यस वर्ष १५०१+ समूहमा परेको छ। टीएचईमा परेका १६ हजार विश्वविद्यालयमध्ये त्रिवि १५०१ नम्बरमा परेको हो।
सन् २०१९ देखि त्रिविले यो वरीयतामा सहभागिता जनाउन थालेको हो। २०१९ देखि २०२३ सम्म त्रिवि १ हजारभित्र पर्ने गर्थ्यो। सन् २०२४ देखि हालसम्म त्रिविले यही स्थान पाएको हो। विषयगत रुपमा टीएचई वरीयता ११ फरक विषयहरुमा दिइएको छ। जसमा त्रिवि मानविकीतर्फ कुनै वरीयतामा नपर्दा बिजनेस एन्ड इकानोमिक्समा १००१ नम्बरमा परेको छ।
कम्प्युटर साइन्स, कानुन, मनोविज्ञानमा कुनै वरीयता नपाएकोृ त्रिविले एजुकेसन स्टडिजमा ८०१औँ वरीयता पाएको छ। त्यसैगरी इन्जिनियरिङतर्फ १००१–१२५० वरीयता प्राप्त गर्दा लाइफ साइन्सेजमा १००१, मेडिकल साइन्स एन्ड हेल्थमा ६०१–८०० भित्र पर्न सफल भएको छ। फिजिकल साइन्समा त्रिवि १२५१ औँ स्थान प्राप्त गरेको छ भने सोसल साइन्सेजमा ८०१–१००० भित्र परेको छ।
त्यस्तै यूएसन्युज डटकममा ९१९औं स्थान र सेन्टर फर वर्ल्ड युनिभर्सिटी र्यांकिङ (सीडब्लुयूआर) मा १६५७औं स्थान प्राप्त गरेको त्रिविले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
सीडब्लुयूआरअनुसार त्रि.वि. विश्वका शीर्ष ७.८ प्रतिशत विश्वविद्यालयहरूमा पर्न सफल भएको छ। जुन गत वर्षको ८.३ प्रतिशतभन्दा सुधारिएको हो।
यी ऱ्याङ्किङ (वरीयता) हरूले त्रिविको निरन्तर प्रगतिलाई प्रतिविम्बित गर्ने त्रिविको दाबी छ। विश्वका प्रतिष्ठित याङ्किङ प्रणालीहरू जस्तै टीएचई, यूएसन्युज डटकम र सीडब्लुयूआरले फरक–फरक मापदण्डहरू अपनाउने भएकाले एउटै विश्वविद्यालयको स्थान फरक पर्नु अस्वाभाविक नहुने त्रिविले बताएको छ।
त्रिविका अनुसार टीएचईले शिक्षण वातावरण, अनुसन्धान गुणस्तर, उद्योग सहकार्य र अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिने गरेको छ भने यूएसन्युजडटकमले अनुसन्धान प्रतिष्ठा, प्रकाशन, सम्मेलन र उद्धरण प्रभावलाई प्राथमिकता दिने गरेको पाइन्छ। त्यस्तै सीडब्लुयूआरले पूर्वविद्यार्थीहरूको सफलता, प्राध्यापकहरूको विशिष्टता र अनुसन्धानलाई आधार मानेको छ।
यस्ता फरक मापदण्डहरूले त्रि.वि.को बहुआयामिक क्षमताको मूल्याङ्कन गर्दछन् र हामीलाई सुधारका क्षेत्रहरू पहिचान गर्न सहयोग पुऱ्याउँछन्।
त्रिविको वैश्विक छवि र्याङ्किङमा उल्लेखनीय प्रगति गर्दै विषयगत ऱ्याङ्किङ (वरीयता) मा त्रि.वि.को प्रदर्शन उत्कृष्ट रहेको छ। विशेष गरी चिकित्सा (मेडिसिन एन्ड हेल्थ) विषयमा त्रि.वि. विश्वका ६०१ औं स्थान कायम गरेको छ। जुन भारतका आधा दर्जनबाहेक अन्य विश्वविद्यालयहरूभन्दा उत्कृष्ट ठहरिएको छ।
यस उपलब्धिले स्वदेशमै गुणस्तरीय चिकित्सा शिक्षालाई सम्भव भएको प्रमाणित गर्दछ। इन्जिनियरिङ (आईओई) मा १००० वरपरको स्थान, शिक्षा अध्ययन, जीवन विज्ञान, भौतिक विज्ञान र सामाजिक विज्ञानहरूमा पनि त्रि.वि. भारतका थुप्रै विश्वविद्यालयहरूसँग प्रतिस्पर्धी देखिएको छ।
त्रिविले विश्वविद्यालयको मूल्याङ्कनलाई विद्यार्थी संख्याबाट मात्रै नभई गुणस्तरीय अनुसन्धान, शिक्षण, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र समाजमा पुऱ्याएको प्रभाव र योगदानबाट निर्धारण गर्ने लक्ष्य राखेको जनाएको छ।
पर्याप्त लगानी, रणनीतिक योजना र अन्तर्राष्ट्रिय सहकार्यमा थप बढावा दिई त्रि.वि.ले आगामी वर्षहरूमा विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूको सूचीमा गरिमामय स्थान हासिल गर्ने विश्वास त्रिविको छ।
त्रिभुवन विश्वविद्यालयको वैश्विक उपस्थिति र प्राप्त गरेको स्थानले त्रि.वि. निरन्तर सुधारात्मक दिशातर्फ अघि बढिरहेको स्पष्ट देखाउने त्रिविले जनाएको छ।
त्रिविले अनुसन्धानमा लगानी वृद्धि गर्ने प्रतिबद्धता समेत जनाएको छ। यसअनुसार स्कोपस र वेब अफ साइन्स सूचीकृत पत्रिकाहरूमा प्रकाशनलाई प्रोत्साहन दिने, अनुसन्धान समूहहरू गठन गर्ने, पोस्ट-डक्टरल र पीएचडी कार्यक्रमहरूलाई सुदृढ बनाउने तथा प्रयोगशाला र उपकरणहरूमा लगानी गर्ने त्रिविले जनाएको छ।
उद्धरण र अन्तर्राष्ट्रिय सहकार्यतर्फ अन्तर्राष्ट्रिय सह–अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, खुला पहुँच प्रकाशनलाई प्राथमिकता दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्ने र विदेशी विश्वविद्यालयहरूसँग संयुक्त डिग्री कार्यक्रमहरू सुरु गर्ने त्रिविको तयारी छ।
साथै, प्राध्यापक तथा विद्यार्थी आदान–प्रदान कार्यक्रमहरू विस्तार गर्ने र अंग्रेजी माध्यमका पाठ्यक्रमहरू बढाउने नीति त्रिविले अघि सारेको छ। त्यसैगरी शिक्षण वातावरणको आधुनिकीकरणतर्फ सूचना प्रविधि (आईसीटी) आधारित शिक्षणलाई विस्तार गर्ने, पाठ्यक्रमलाई अनुसन्धान- केन्द्रित बनाउने र शिक्षक-विद्यार्थी अनुपात सुधार्ने, उद्योग सहकार्यतर्फ एप्लाइड रिसर्चमा उद्योगसँग साझेदारी गर्ने, कन्सल्टेन्सी र प्रविधि हस्तान्तरण कार्यक्रमहरू सञ्चालन गर्ने तथा स्टार्टअप इन्क्युबेसन सेन्टरहरू विकास गर्ने त्रिविले जनाएको छ।
यसैगरी डिजिटल उपस्थिति मजबुततर्फ विश्वविद्यालयको वेबसाइटलाई अद्यावधिक गर्दै अनुसन्धान, प्रकाश परियोजना र तथ्याङ्कहरूको विस्तृत जानकारी उपलब्ध गराउने तथा सार्वजनिक डाटाबेसहरू निर्माण गर्ने नीति छ।
Shares

प्रतिक्रिया