समाज


निर्वाचन प्रहरी दम्पती: सपनामा डाक्टर, हातमा लाठी

निर्वाचन प्रहरी दम्पती: सपनामा डाक्टर, हातमा लाठी

ओमप्रकाश भट्ट र उनकी श्रीमती टिकेश्वरी


नेपालखबर
फागुन १३, २०८२ बुधबार २१:४०, काठमाडौँ

डडेल्धुरा सदरमुकामको सडक किनारमा मकै पोलेर गुजारा चलाउने एउटा दम्पती यसपालि फरक भूमिकामा देखिएको छ। भागेश्वर गाउँपालिका–४ डुगरीका ओमप्रकाश भट्ट र उनकी श्रीमती टिकेश्वरी यतिबेला निर्वाचन प्रहरीको बर्दीमा छन्।

बिहानैदेखि बेलुकीसम्म मकैको धुँवा र रापसँग खेल्ने यी दम्पतीका हातमा अहिले देशमा चुनाव गराउने जिम्मेवारीसहितको लाठी छ।

भट्ट दम्पतीको यो यात्रा रहरले होइन, बाध्यताले डोर्‍याएको हो। घरको कमजोर आर्थिक अवस्था र बुढेशकालकी आमादेखि साना छोराछोरीको भविष्य सुनिश्चित गर्न उनीहरूले यो ४० दिने जागिर रोजेका हुन्।

अहिले डडेल्धुरा बजारमा डेरा गरी बसिरहेका ओमप्रकाशको परिवारमा ८२ वर्षीया आमा, १० वर्षीय छोरा र ६ वर्षीया छोरी छन्। बुवाको उपचार गर्न नसकेर गुमाउनु परेको पीडा अझै उनको मनमा ताजा छ। "बुवाको आर्थिक अभावका कारण समयमै राम्रो उपचार हुन नसक्दा पक्षाघातका कारण निधन भयो," ओमप्रकाशले विगत सम्झिए।

पोलेका मकै बेच्दै टिकेश्वरी भट्ट

उनको दैनिकी ऋतुअनुसार बदलिन्छ। सिजनअनुसार कहिले मकै त कहिले बदाम बेचेर उनले परिवारको रथ तानिरहेका छन्। उनले आफ्नो कामबारे भने, “म चैतदेखि असोजसम्म मकै बेच्छु, सिजन सकिएपछि बदाम (मुम्फली) बेच्ने गर्छु।”

डडेल्धुरामा लाग्ने मेला र जात्राहरूमा स्टल राखेर हुने सानोतिनो कमाइले छोराछोरीको स्कुल फि र कोठाभाडा तिर्न धौ–धौ पर्छ।

तर, यति धेरै अभावका बीच पनि यो दम्पतीले एउटा ठूलो सपना देख्न छाडेको छैन-आफ्ना छोराछोरीलाई पढाएर डाक्टर बनाउने। बुवालाई उपचार अभावमा गुमाएका ओमप्रकाश चाहन्छन्, भोलि आफ्ना सन्तानले कसैलाई उपचार अभावमा मर्नु नपरोस्।

म्यादी प्रहरीमा दुवै जना छनोट भएपछि उनीहरूले केही आर्थिक राहत महसुस गरेका छन्। यो ४० दिनको कमाइले छोराछोरीको पढाइमा सहयोग पुग्ने उनीहरूको विश्वास छ। सडकको धुलो र मकैको रापबाट केही समयका लागि टाढा भए पनि उनीहरूको संघर्षको कथा भने उस्तै छ - केवल पात्रको हातमा मकैको घोगाको सट्टा लाठी फेरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad