भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ गर्न गठित आयोगले आइतबार प्रतिवेदन बुझाउने भएको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले म्याद सकिने दिन प्रतिवेदन बुझाउने भएको हो।
आयोगले प्रतिवेदन बुझाउका लागि प्रधानमन्त्री सुशीला कार्कीको समय लिइसकेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार बिहान ११ बजे आयोगले प्रतिवेदन बुझाउने तयारी छ।
जेनजी आन्दोलनमा भएका घटना छानविनका लागि अन्तरिम सरकारले असोज ५ गते ३ सदस्यीय आयोग गठन गरेको थियो। सुरुमा तीन महिनाभित्र प्रतिवेदन बुझाउन भनिए पनि आयोगले काम नसकेको भन्दै पटक पटक म्याद थप गरिएको थियो।
तेस्रो पटक माघ २९ गतेबाट लागुहुने गरी २५ दिन म्याद थप गरिएको थियो। आयोगले जाँचबुझको काम सके पनि निर्वाचन बिथोलिने डरले सरकारले नै चुनावपछिलाई धकेलेको थियो।
जेनजी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबाट ७६ जनाको ज्यान गएको थियो। ती मध्ये ४५ जनालाई सहिद घोषणा गरिएको छ।
यी घटनाका दोषी र सिंहदरबार, संसद, सर्वोच्च अदालतसहित व्यक्तिका सम्पत्ति समेतमा भएका आगजनीका घटना, कारागारबाट कैदीबन्दी भगाएका घटनामा संलग्नहरुलाई कारबाहीका लागि सिफारिस गर्नेसहितका अधिकार आयोगलाई छ।
Shares

प्रतिक्रिया